कांग्रेसको प्रश्न- प्रधानमन्त्री शाह संसदको अंग हुन् कि अलग्गै साम्राज्यको सम्राट ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री प्रधानमन्त्री बालेन शाह प्रतिनिधि सभा बैठकमा लगातार अनुपस्थित रहेको विषयलाई लिएर गम्भीर प्रश्न उठाएका छन् ।

संसदबाट निर्वाचित प्रधानमन्त्रीले कुनै अर्को साम्राज्यको सम्राटजस्तो व्यवहार देखाएर संसदमा उपस्थित नभएको भन्दै केसीले सभामुखमार्फत सरकारको भूमिकामाथि प्रश्न गरेका हुन् ।

उनले प्रधानमन्त्रीले नै गृहमन्त्रालय सम्हालेको अवस्थामा मनसुन सुरु हुन लागेका बेला विपद् व्यवस्थापन, सुरक्षा तयारी र सरकारी जवाफदेहिताजस्ता संवेदनशील विषयमा उनले जवाफ दिनुपर्ने बताए ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले प्रधानमन्त्री शाहमाथि कटाक्ष गर्दै भने, ‘प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ । उहाँ यो संसदको अंग हो कि होइन ? उहाँ भिन्दै साम्राज्य वा टापुको सम्राट हो कि यो संसदको अभिन्न अंग हो ?’

नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाह स्वयं संसदमा उपस्थित नभएपछि विपक्षी दल आक्रोशित बनेका छन् । 

प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको तर्फबाट जवाफ दिएका थिए ।

कांग्रेसले प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिलाई संसदप्रतिको बेवास्ता र गैरजवाफदेहिताको संकेतका रूपमा व्याख्या गरेको छ । विपक्षी सांसदहरूले राष्ट्रिय महत्वका विषयमा प्रधानमन्त्री स्वयं उपस्थित भएर धारणा राख्नुपर्ने मागसमेत गरेका छन् ।

Share News