एकाएक बैंक खाताबाट पैसा रित्तिएपछि...

स्क्यामरको पासोमा सर्वसाधारण

काठमाडौं । मोबाइल बैंकिङ चलाउँदैनन् उनी । आफूदेखि बाहेक कसैले पनि उनको मोबाइल चलाउँदैन थियो । उनी अर्थात् सागर बस्नेतले ओटीपी पनि कसैलाई दिएका थिएनन् । उनले सामाजिक सञ्जालमा कुनै लिङ्क चलाएका थिएनन् ।

केही दिनअघि उनको खाताबाट एक्कासि खाताबाट तीन लाख रुपैयाँ हरायो । एक पटकमा सागरको खाताबाट २० हजार मात्र झिकिन्छ । उनले पैसा हराएको थाहा पाएनन् । बिहानीपख मोबाइलमा म्यासेज देखेपछि मात्र उनले थाहा पाए ।

खाताबाट पैसा काटियो । उनले त्यसलाई बेवास्ता गरे । भोलिपल्ट पनि उस्तै समयमा ठूलो मात्रामा रकम काट्यो । एक सातामै उनको बैंक खाताबाट तीन लाख रुपैयाँ हरायो ।

सागर आत्तिए । परिवार, साथी र बैंकमा सल्लाह गरे । उनले त्यसपछि प्रहरीकोमा जाने निर्णय गरे । उनी लगत्तै भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्यूरोमा पुगेर निवेदन दिए । 

रमेश थापा सरकारी कार्यालयमा कार्यरत छन् । अझ उनी उच्च पदमा छन् । डिजिटल कारोबारमा उनी अभ्यस्त  छन् । मोबाइल बैंकिङ चलाउँथे । तर, प्रविधिको भित्री ज्ञान भने उनमा थिएन । 

रमेशको मोबाइलमा अचानक एउटा फोन आयो । ट्रु कलरमा ‘बैंक सपोर्ट अफिस लेखिएको थियो । रमेशले फोन उठाए । ‘नमस्कार रमेशजी, म तपाईंको ‘वालेट र बैंक सपोर्ट’ हेड आशिष शर्मा बोलेको । तपाईंको खाताको (केवाइसी) अपग्रेड नभएकाले अकाउन्ट ब्लक हुन लागेको छ । हामी त्यसलाई सुचारु गर्दैछौँ,’ फोनमा उनी बोले ।

उनले भने, ‘अरे ! अफिसको तलब आउने बेला भयो, ब्लक भयो भने बर्बाद हुन्छ । के गर्नुपर्छ सर ।’ आशिषले उनलाई केही गर्नु पर्दैन । तपाईंको मोबाइलमा एउटा ६ अंकको भेरिफेकिसन कोड आएको छ, त्यो भनिदिनुस्। हामी यहाँबाट सिधै सिस्टम अपग्रेड गरिदिने बताए ।

ठिक त्यही बेला रमेशको मोबाइलमा एउटा ओटीपी आयो । खाता ब्लक हुने डरले रमेशले सोच्दै नसोची त्यो कोड फोनमा भनिदिए । तर, फोन काटिएको एक मिनेट पनि भएको थिएन । उनको  मोबाइलमा लगातार म्यासेजहरू आउन थाले । खातामा पैसा भरिएको म्यासेज आयो ।

तर पुनः सोही खाताबाट पटक–पटक गरेर पैसा काटिन थाल्यो । रमेशको आँखै अगाडि उनको कमाइ, झन्डै साढे १ लाख रुपैयाँ केही मिनेटमै शून्य भयो । उनले तुरुन्तै त्यो नम्बरमा फोन गरे, तर फोन ’स्वीच अफ’ भइसकेको थियो । 

पछिल्लो समय प्रविधिले विकासको फड्को मारेसँगै अपराधको स्वरुप फेरिँदै गएको छ । जति प्रविधिको विकास भयो, उति नै मानिसहरूले सुविधाको खोजी गर्न थाले ।

प्रविधिको माध्यमबाट वित्तीय अपराध बढ्दै गएको छ । सर्वसाधारणले बैंकबाट लाखौं रुपैयाँ गुमाउन थालेका छन् । घरमा चोरी हुनु सामान्य मानिन्थ्यो । तर, अहिले भने बैंक खाताबाट पैसा हराउन थालेको छ ।

यसैको उदाहरणस्वरुप धेरै सेवाग्राहीले बैंक खाताबाट पैसा गुमाउन थालेका छन् । विभिन्न व्यक्तिहरूको प्रलोभनमा वा त्रुटी गरेर सेवाग्राहीले बैंक खाताबाट पैसा गुमाइरहेका छन् ।

सुविधाको विकास भएसँगै प्रविधिको चुनौतीलाई सामना गर्न नसक्दा क्षति भोग्नेको संख्या बढिरहेको छ । सामाजिक सञ्जालका विभिन्न लिङ्क थिच्दा वा ओटीपी तथा बैंकको विवरण सार्वजनिक गर्दा थप वित्तीय संकटमा परिरहेका छन् । 

नेपाल प्रहरीको साइबर ब्यूरोमा मात्र सर्वसाधारणको बैंक खातमा अनाधिकृत पहुँच पु¥याएर पैसा हराउने क्रम बढेको भन्दै उजुरी दिने क्रम बढेको छ ।

प्रत्येक वर्ष बैंक खाताबाट पैसा हराएको भन्दै सेवागाह्रीहरू प्रहरीको उजुरी दिन थालेका छन् । साइबर ब्यूरोमा मात्र बैंक तथा वालेट अफिसबाट बोलेको भन्दै र स्क्रनिङ सेयर, फिसिङ,  ओटीपी तथा वालेट ह्याक गरेर पैसा हराएको उजुरी परेको छ ।

साइबर ब्यूरोका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा बैंक तथा वालेट अफिसबाट बोलेको भन्दै २९० उजुरी परेको थियो । आव २०८१/०८२ मा ३ सय ३६ उजुरी र २०८२/०८३ मा २९७ उजुरी परेको थियो ।

आर्थिक वर्ष २०८०/ ०८१ मा ओटीपी , फीसीङ लिङ्क र स्क्रिनिङ सेयर गरेर बैंकमा पहुँच पु¥याएर पीडित ३ सय १९,  आर्थिक वर्ष २०८१/०८२ मा २ सय ८९ र आव २०८२/०८३ मा १ हजार १९६ उजुरी परेको थियो ।

ब्यूरोका प्रवक्ता दिलिप गीरीले उजुरी परेका धेरै निवेदनका अनुसार पीडक समक्ष पुग्ने गरेको बताए । बैंकको खाता अनुसार पीडक तथा ह्याक गर्नेको नजिक पुग्न सकिने उनको भनाइ छ ।

बैंक खाताबाट गएको पैसा अर्को खातामा पैसा पुग्दा स्क्याम गर्नेको नजिक पुग्न सकिने प्रवक्ता गिरीले बताए । बैंक खाता नम्बरबाट सम्बन्धित व्यक्ति समक्ष पुगिने उनले बताए । बैंकिङ खाताबाट पैसा झिक्ने समूहहरू एकै हुने गरेको उनको बुझाइ छ । 

वित्तीय सचेतनाको अभाव

बैंकिङ सचेतना नहुँदा मानिसहरूका बैंकका खातामा ह्याकरको प्रवेश बढ्न थालेको ज्ञानेन्द्र अधिकारी बताउँछन् । बैंकिङको विषयमा धेरै सरोकार राख्नेहरूले यस्ता विषयमा सचेतना फैलाउनु पर्ने उनको सुझाव छ ।

प्रलोभनमा पर्ने मानिसहरू धेरै देखिएकाले यस्ता घट्नाहरू सार्वजनिक हुन थालेको अधिकारीको भनाइ छ । मुलुकमा रोजगार नहुँदा र उत्पादनकमुलक काममा नलाग्दा मानिसहरू थोरै–थोरै पैसाको लोभमा पर्न थालेको उनको बुझाइ छ ।

अहिलेका युवाहरूमा बढी महत्त्वकांक्षा भएकाले तीब्र रुपमा पैसाको खोजी गर्नेहरू बढ्न थालेको अधिकारीको धारणा गरे । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) मुद्दा चल्छ । त्यसो गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुने गर्छ । 

Share News