काठमाडौं । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले खानी विभागले पहिचान गरेका खानी उत्खनन गरेर बेच्न आँट गर्नैपर्ने बताएका छन् ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् ।
खानी उत्खनन र ढुङ्गागिट्टी निर्यातका विषयमा उनले विगतको आफ्नो अनुभव स्मरण गर्दै भने, ‘खानी बेचौं, ढुङ्गागिट्टी बेचौं भन्दा चुरे बेच्न खोज्यो भनेर मैले चुटाई खानुपर्यो । तर खानी विभागले पहिचान गरेका खानी उत्खनन गरेर बेच्न आँट गर्नैपर्छ । बुढीगण्डकी जस्ता गेम चेन्जर परियोजना गीत गाएर मात्र नबसी काम थाल्न आवश्यक छ ।
पूर्वअर्थमन्त्री पौडेलले स्रोतको अनुमान नगरी खर्चको मात्र अनुमान गरेर बजेट बनाउने परम्परागत कमजोरी सच्याउन आग्रह गरे ।
‘बलियो जनमतको सरकार र अर्थतन्त्र बुझेको अर्थमन्त्री हुनुहुन्छ, वाचापत्र पूर्ण परिपालन गर्ने अवसर छ,’ पौडेलले भने, ‘स्थानीय वा प्रदेश चुनावको चिन्ता नगरी रिफर्मका लागि बजेट ल्याउनुस्, मेरो पूर्ण सहयोग रहनेछ।