काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग विश्व बैंकका ’प्र्याक्टिस म्यानेजर फर एग्रिकल्चर एन्ड फुड ग्लोबल प्र्याक्टिस, साउथ एसिया’ टोमस रिकार्डो रोसाडा विलामार लगायतका पदाधिकारीहरूले शिष्टाचार भेटघाट गरेका छन् ।
मन्त्रालयमा भएको उक्त भेटवार्ताका क्रममा नेपालको कृषि क्षेत्रको संस्थागत सुधार, भूमि तथा जलाधार व्यवस्थापन, पशुधन तथा पहाडी कृषि वस्तुको निर्यात प्रवद्र्धन, पशु रोग नियन्त्रण एवं कृषि क्षेत्रको डिजिटलाइजेसन (विद्युतीयकरण) सम्बन्धी विविध विषयमा गहन छलफल भएको छ ।
साथै, बैठकमा एनएलएसआईपी र रीड परियोजनाको हालसम्मको उपलब्धि तथा फ्यान्सेप र रानी जमरा कुलरिया परियोजनाको प्रगतिका विषयमा समेत समीक्षा गरिएको थियो ।
भेटका क्रममा मन्त्री चौधरीले युवा वर्गलाई कृषिमा आकर्षित गर्ने, रोजगारीको सिर्जना गर्ने, किसान सूचीकरण कार्यलाई गति दिने तथा कृषि क्षेत्रमा नवप्रवर्तन प्रवद्र्धन गर्ने विषयमा विशेष जोड दिए ।
नेपाली कृषि र पशुजन्य उत्पादनको विश्व बजार सुनिश्चित गर्नका लागि मुलुक रोगमुक्त हुनुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री चौधरीले मन्त्रालयबाट विश्व बैंकमा प्रेषित गरिएको एनिमल हेल्थ सिस्टम ट्रान्सफर्मेसन प्रोजेक्ट बारे टोलीको विशेष ध्यानाकर्षण गराए ।
छलफलका क्रममा नेपालमा एग्री-कनेक्ट कार्यक्रम कार्यान्वयन गर्ने विषयमा समेत दुई पक्षबीच कुराकानी भएको थियो ।
मन्त्रालय र विश्व बैंकका अधिकारीहरूबीच भएको यस सकारात्मक संवादमा विश्व बैंकको टोलीले नेपालको रासायनिक मल सम्बन्धी अध्ययन तथा एग्री-कनेक्ट कार्यक्रमलाई अगाडि बढाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।