काठमाडौं । देशभर बढ्दो वायु प्रदूषण, तीव्र ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले नयाँ सार्वजनिक सवारी साधनको दर्तामा पूर्ण रोक लगाएको छ ।
यातायात व्यवस्था विभागले बिहीबार सातै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै पर्यावरणमैत्री मानिने विद्युतीय (इलेक्ट्रिक) गुड्ने गाडीसहित कुनै पनि प्रकारका नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्न निर्देशन दिएको हो ।
सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा नागरिकको आवागमनमा दैनिक कठिनाइ उत्पन्न भएको, इन्धनको मूल्य लगातार बढेको र सडकमा सवारीको अत्यधिक चाप बढेकाले यस्तो असहज परिस्थितिलाई सम्बोधन गर्न यो कदम चाल्नुपरेको विभागले जनाएको छ ।
विभागले यो आकस्मिक निर्णय ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) मा टेकेर गरेको हो, जसमा वातावरण प्रदूषण, सवारीको चाप वा सडकको स्थितिका कारण सार्वजनिक हितका लागि आवश्यक देखिएमा विभागले सवारी दर्ता रोक्न सक्ने कानुनी व्यवस्था छ ।
सार्वजनिक सवारी साधनको क्षेत्रलाई थप व्यवस्थित र वैज्ञानिक बनाउने उद्देश्यका साथ लागू गरिएको यो निर्णय अर्को सूचना जारी नभएसम्मका लागि तत्कालै लागू हुने स्पष्ट पारिएको छ ।
