काठमाडौं । लोहनी एण्ड ब्रदर्स प्रालिलाई डेढ करोड रुपैयाँ तिर्न ताकेता गरेको छ । सडक डिभिजन भरतपुरले लोहनी एण्ड ब्रदर्स प्रालि भरतपुर, चितवनलाई सरकारी बाँकी सरहको १ करोड ५३ लाख ६० हजार ९७९ रुपैयाँ चुक्ता गर्न ताकेता गरेको हो ।
सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गत रहेको सडक डिभिजन भरतपुरले उक्त कम्पनीसँग भएको ठेक्का सम्झौता पटक-पटक म्याद थप गर्दा पनि सम्झौताअनुसार कार्य सम्पन्न नभएको भन्दै ठेक्का अन्त्य गरेको थियो ।
कार्यालयका अनुसार वि.सं २०७३ मंसिर २९ मा बुढी राप्ती खोलामा प्रि-स्ट्रेस्ड ब्रिज निर्माणसम्बन्धी ठेक्का सम्झौता गरेको थियो । तर, सम्झौता अनुसार कार्य नगरेपछि विसं २०८० जेठ ७ को निर्णयअनुसार ठेक्का अन्त्य गरिएको थियो ।
ठेक्का अन्त्यपछि सार्वजनिक खरिद ऐन, २०६३ तथा प्रचलित नियमावलीअनुसार कायम भएको १ करोड ५३ लाख रुपैयाँ सरकारी बाँकी सरह रकम दाखिला गर्न निर्देशन दिइएको हो
कार्यालयले उक्त रकम ३५ दिनभित्र सडक डिभिजन भरतपुरको राजस्व खातामा जम्मा गरी सक्कल भौचर बुझाउनुपर्नेछ । निर्धारित समयभित्र रकम दाखिला नगरे कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने डिभिजनले जनाएको छ ।