काठमाडौं । प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक शुक्रबार (आज) पनि अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा बसिरहेको छ । बैठकले नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी गरेको बैठकमा सहभागी एक नेताले बताए ।
सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले नेताहरूको कार्यविभाजनसम्बन्धी प्रस्ताव पेश गरेका थिए । आजको बैठकमा उक्त प्रस्तावमाथि छलफल गरी आवश्यक हेरफेरसहित अन्तिम निर्णय गरिने एमाले स्रोतले जनाएको छ । निर्णयलाई अन्तरपार्टी निर्देशनमार्फत सम्बन्धित नेताहरूलाई पठाइने तयारी गरिएको छ ।
गत मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा सम्पन्न एमालेको ११औं महाधिवेशनपछि नेताहरूको अस्थायी कार्यविभाजन गरिएको थियो । त्यसपछि फागुन २१ को निर्वाचनलाई केन्द्रित गर्दै केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई जिम्मेवारी तोकिएको थियो ।
यसपटकको कार्यविभाजनमा पार्टीका महत्वपूर्ण विभागहरूमा नयाँ जिम्मेवारी प्रस्ताव गरिएको छ ।
प्रस्तावअनुसार सचिव भानुभक्त ढकाललाई संगठन विभाग, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कुल विभाग, विशाल भट्टराईलाई जनसंगठन विभाग तथा डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ ।
त्यस्तै, उपाध्यक्ष तथा उपमहासचिवहरूलाई विभिन्न विभागहरूको समन्वय र अनुगमनको जिम्मेवारी दिने तयारी गरिएको बताइएको छ ।
अध्यक्ष ओलीको प्रस्तावमा अधिकांश केन्द्रीय सदस्यलाई मिसन स्थानीय चुनावअन्तर्गत विशेष जिम्मेवारी दिइएको स्रोतको भनाइ छ ।