काठमाडौं । सडक र सवारी लक्षित ‘मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३’ शुक्रबारबाट औपचारिक रूपमा सुरु गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा नयाँ बसपार्कमा आयोजित कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यमा अभियानको शुभारम्भ गरिएको हो ।
अभियानअन्तर्गत नयाँ बसपार्कसहित कलंकी, नागढुङ्गा, फर्पिङ र भक्तपुर लगायतका स्थानमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरी सेवा सुरु गरिएको छ ।
मनसुनको समयमा हुने सडक दुर्घटना, पहिरो, डुवान, चिप्लोपन तथा दृश्यता कम हुने समस्याका कारण मानव जीवन र यातायात व्यवस्थापनमा चुनौती बढ्दै आएको सन्दर्भमा यस्ता जोखिम न्यूनीकरण गर्दै सुरक्षित सडक संस्कृतिको विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, राष्ट्रिय सडक सुरक्षा परिषद्का टेक्निकल एडभाइजर सरोज प्रधान, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राम बहादुर केसी तथा अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसीले मन्तव्य व्यक्त गरेका थिए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य राख्दै अभियानको औचित्यबारे प्रकाश पारेका थिए ।
सोही अवसरमा ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच ‘लज ट्यागिङ प्रणाली’ लागू गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर समेत गरिएको छ ।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारी लगायत नगर प्रहरी, विभिन्न यातायात मजदुर संघ, व्यवसायी, सामुदायिक सेवा केन्द्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।