उच्च अदालत जनकपुरको न्यायिक पहुँच अभियान आइतबारदेखि

काठमाडौं । उच्च अदालत, जनकपुरले धनुषाका आठ विभिन्न नगरपालिकामा प्रत्यक्ष रूपमा कानुनी सचेतना पुर्याउने उद्देश्यसहित न्यायिक पहुँच अभियान सुरु गर्ने भएको छ । 

जेठ १० गते आइतबारदेखि सुरु हुने उक्त कार्यक्रम न्यायपालिकालाई जनताको घरदैलोमै पुर्याउने प्रयास भएको उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश डा. टेकराज कुँवरले जानकारी दिए ।

उच्च अदालतका न्यायाधीशहरूको नेतृत्वमा सञ्चालन हुने यस कार्यक्रममार्फत स्थानीय नागरिक, कानुनप्रेमी, विद्यार्थी तथा समुदायका विभिन्न वर्गलाई न्याय प्रणालीबारे प्रत्यक्ष जानकारी दिइने कुँवरले बताए । 

उनका अनुसार अभियानका क्रममा अदालतका कामकारबाही, नागरिक अधिकार, न्यायमा पहुँच तथा कानुनी प्रक्रियाबारे खुला अन्तरक्रिया गरिने छ ।

कार्यक्रमअन्तर्गत अदालतका प्रतिनिधिहरू विभिन्न नगरपालिकामा पुगेर कानुनी सचेतना अभिवृद्धि, न्यायिक प्रक्रियाबारे प्रशिक्षण तथा नागरिकका जिज्ञासाको समाधान गर्ने कार्यक्रम रहेको छ । 

यसले सर्वसाधारण र न्यायपालिकाबीचको दूरी घटाउने तथा न्यायप्रति जनविश्वास थप बलियो बनाउने अपेक्षा गरिएको उच्च अदालतले जनाएको छ ।

उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश कुँवरले अभियानले विशेषगरी ग्रामीण तथा कानुनी पहुँच कम भएका समुदायलाई लक्षित गर्ने जानकारी दिए । 

Share News