काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका १३७ जना ऋणीको नामावली सार्वजनिक गरेको छ ।
समितिले गत वैशाख २३ गते बसेको बैठकको निर्णयअनुसार ऋणीहरूको विवरण सार्वजनिक गरिएको जनाएको हो ।
यसअघि नेपाल सरकारले २०८० चैत १३ गते गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो ।
समितिका अनुसार संस्थाबाट लिएको कर्जा हालसम्म नतिर्ने ऋणीहरूको उपलब्ध विवरणका आधारमा नामावली सार्वजनिक गरिएको हो । सार्वजनिक सूचीमा विभिन्न व्यवसायी, सहकारीसँग आबद्ध व्यक्ति तथा प्रभावशाली व्यक्तिहरू समेत समावेश रहेको जनाइएको छ ।
समितिले ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम परेका व्यक्तिलाई प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ । साथै, हालसम्म कर्जा भुक्तानी नगरेका ऋणीहरूलाई तत्काल सम्पर्कमा आई ऋण चुक्ता गर्न निर्देशन दिइएको छ ।
समितिले तोकिएको समयभित्र ऋण भुक्तानी नगरे प्रचलित कानुनअनुसार असुली तथा अन्य कानुनी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।