बागमतिमा परितोषभन्दा रामशरण अगाडि

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको सञ्चालकका लागि शनिबार भएको निर्वाचनमा बागमती प्रदेशमा रामशरण शर्मा घिमिरे अगाडि देखिएका छन् । शनिबार निर्वाचनपछि बागमतीको गणना गर्दा घिमिरेले ७५२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी परितोष पौड्यालले ५८५ मत पाएका छन् ।

निर्वाचन समितिका अनुसार बागमती प्रदेशमा कुल ३ हजार ४९७ मतदाता रहे पनि १ हजार ३३७ मत मात्रै खसेको थियो । अन्य ६ प्रदेशको मतगणना आज साँझ हुने र अन्तिम परिणाम आइतबार सार्वजनिक गरिने जनाइएको छ ।

पौड्याल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको संयुक्त गठबन्धनका उम्मेदवार हुन् भने घिमिरे स्वतन्त्र अर्थात् बागी उम्मेदवार हुन् ।

राष्ट्रिय सहकारी बैंकको सञ्चालक चयनका लागि अन्य प्रदेशमा सर्वसम्मत चयन भए पनि बागमतीमा मात्रै प्रतिस्पर्धा भएको हो । 

बैंकमा देशभरका १६ हजारभन्दा बढी सहकारी संघसंस्था आबद्ध छन् । गत मंसिरमा सम्पन्न बैंकको २२औँ वार्षिक साधारणसभामा ८ हजार ६८९ प्रतिनिधि सहभागी भएका थिए । तिनै प्रतिनिधिमार्फत प्रदेशगत सञ्चालक चयन प्रक्रिया अघि बढाइएको हो ।

प्रदेशगत प्रतिनिधि संख्याअनुसार बागमतीमा सबैभन्दा बढी ३ हजार ४९७ प्रतिनिधि रहेका छन् । त्यस्तै, कोशीमा १ हजार ३९४, मधेशमा १ हजार १७२, लुम्बिनीमा १ हजार ७८, गण्डकीमा ८४९, कर्णालीमा ४०२ र सुदूरपश्चिममा २९७ प्रतिनिधि रहेका छन् ।

Share News