चार पटक म्याद थप, काम अझैं भएन

दमौली । लामो समयदेखि अलपत्र परेको तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन पुलको कामले फेरि गति लिएको छ।

व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेती नदीमाथिको पुल निर्माण केही समयदेखि रोकिएको थियो। पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीका अनुसार अहिले पुलमा धमाधम काम भइरहेको छ। केही समय काम अलपत्र परे पनि निर्माण व्यवसायीलाई निर्देशन दिएर निर्धारित समयभित्र काम सम्पन्न गर्न सचेत गराइएको उनले बताए।

पुलको शिलान्यास विसं २०७७ चैत २३ गते गरिएको थियो। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि काम समयमै अघि बढ्न नसक्दा ढिलाइ भएको छ। सम्झौताअनुसार काम भएको भए अहिले पुल सञ्चालनमा आइसक्ने थियो। निर्माण व्यवसायीको ढिलासुस्तीका कारण काममा विलम्ब भएको तिवारीले बताए।

हालसम्म पुल निर्माणको म्याद चार पटक थपिएको छ। अन्तिमपटक विसं २०८३ असोज ३० गतेसम्मका लागि म्याद थप गरिएको उनले जानकारी दिए। बजेट अभाव नभए थपिएको समयभित्रै निर्माण सम्पन्न गर्ने गरी कार्यालय र निर्माण व्यवसायी दुवै लागिपरेको उनले बताए।

उनका अनुसार झापुटारतर्फको स्पानमा स्टिल जडानको काम लगभग सकिएको छ। व्यासतर्फको स्पानमा स्टिल जोड्ने काम पूरा भएपछि पुलको करिब ८५ प्रतिशत काम सम्पन्न हुनेछ। उनले भने, “झापुटारतर्फको स्पानको स्टिलको काम करिब सकिएको छ। व्यासतर्फको स्पानको स्टिल जोडेपछि करिब ८५ प्रतिशत काम सम्पन्न हुनेछ।”

गण्डकी प्रदेश सरकारको ३२ करोड ४० लाख २७ हजार ३९४ रुपैयाँ लागतमा पुल निर्माण भइरहेको हो। पुल निर्माणका लागि रसुवा इलाइट जेभी काठमाडौंसँग सम्झौता गरिएको थियो। पुल १५४ मिटर लामो र ९ दशमलव ५० मिटर चौडा हुनेछ। पाइल फाउन्डेसनमा निर्माण हुने यो पुल स्टिल ट्रस प्रविधिको हुनेछ।

पुल निर्माण सम्पन्न भएपछि व्यास नगरपालिका र ऋषिङ गाउँपालिकाका स्थानीयवासीलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ। हाल सो स्थानमा झोलुङ्गे पुल रहेको छ। त्यसभन्दा करिब एक किलोमिटर माथि तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा अर्को पक्की पुल निर्माण गरिएको छ। तर त्यहाँबाट दमौली पुग्न करिब तीन किलोमिटर दूरी तय गर्नुपर्छ। अहिले निर्माण भइरहेको पुलबाट भने दमौली पुग्न पाँच सय मिटर दूरी पनि छैन।

हाल रहेको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढेपछि केही वर्षअघि जिल्ला अदालतले मोटरसाइकल सञ्चालनमा रोक लगाउने आदेश दिएको थियो। तर उक्त आदेश पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। अहिले पनि स्थानीयवासीले झोलुङ्गे पुलबाट दुईपाङ्ग्रे सवारीसाधन वारपार गरिरहेका छन्।

झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्दा दुर्घटनाको जोखिम अझै कायम छ। साँघुरो पुलमा मोटरसाइकल गुड्दा पैदल यात्रुलाई आवतजावत गर्न समस्या हुने गरेको स्थानीयको भनाइ छ।

Share News