काठमाडौं । सार्वजनिक चासोका मुद्दामा बहस वा फैसला गर्ने दिन सामाजिक सञ्जाल नहेर्न सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले न्यायाधीश र कानुन व्यवसायीलाई सुझाव दिएका छन् ।
विशेष अदालत बार एसोसिएसनले काठमाडौंमा आयोजना गरेको मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संवेदनशील मुद्दामाथि आउने तत्कालीन सामाजिक प्रतिक्रियाले व्यक्तिको मनोविज्ञानमा असर पार्ने बताएका हुन् ।
उनका अनुसार सार्वजनिक सरोकारका मुद्दामा बहस वा फैसला भएपछि सामाजिक सञ्जालमा आउने प्रशंसा र आलोचनाले व्यक्तिमा अस्वाभाविक आत्मविश्वास वा अत्यधिक नकारात्मक सोच पैदा गर्न सक्छ । त्यसैले त्यस्ता मुद्दासँग सम्बन्धित व्यक्तिले कम्तीमा त्यस दिन सामाजिक सञ्जाल र अनलाइन सामग्रीबाट टाढा रहनुपर्ने उनको सुझाव छ ।
‘कुनै एउटा मुद्दामा राम्रो बहस भयो वा फैसला आयो भने प्रशंसा आउँछ, त्यसले म त असाध्यै सक्षम रहेछु भन्ने भावना पैदा गराउँछ । नतिजा विवादित भयो भने उल्टै म गलत रहेछु भन्ने नकारात्मक असर पर्न सक्छ,’ उनले भने, ‘त्यसैले सार्वजनिक चासोको मुद्दा हेरेको दिन बेलुका सामाजिक सञ्जाल र अनलाइन मिडिया नहेर्नु राम्रो हुन्छ।’
न्यायाधीश पोखरेलले तत्काल आउने प्रतिक्रिया स्थायी नहुने उल्लेख गर्दै समयसँगै सार्वजनिक धारणा बदलिने बताए ।
उनका अनुसार संवेदनशील मुद्दामा संलग्न व्यक्तिले क्षणिक प्रतिक्रियाभन्दा आफ्नो मानसिक सन्तुलन र पेशागत निष्पक्षतालाई प्राथमिकता दिनुपर्छ ।
कार्यक्रम विशेष अदालत वार इकाइका अध्यक्ष टीकाबहादुर कुँवरको अध्यक्षतामा भएको थियो ।