दैनिक १ करोड भुक्तानी गर्दै डीडीसी, बक्यौता पनि तिरिँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले दैनिक १ करोड रकम किसानलाई भुक्तानी भैरहेको जनाएको छ ।

मन्त्री गिता चौधरीले दूग्ध विकास संस्थान (डीडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक १ करोड रकम किसानलाई भुक्तानी भैरहेको हो ।

पछिल्लो चार महिनाको करिब ५८ करोड रुपैयाँ बक्यौता दायित्वमध्ये हाल १२ करोड रकम भुक्तानी भइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार एक महिनाको रकम आउँदो १३ गते भित्र भुक्तानी गर्ने तयारी छ। 
 
डीडीसीको हाल दैनिक करिब १ करोड रुपैयाँको कारोबार भैरहेको मन्त्रालयले जनाएको छ ।

दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढिरहेकाले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा पुग्ने मन्त्री चौधरीले जानकारी दिइन् ।

दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । 

Share News