हाम्रो कार्यव्यस्तता धेरै छ, त्यसैले प्रधानमन्त्रीको भ्रमण नभएको हो : पोखरेल

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र  शाहको भारतसहितका वैदेशिक भ्रमणहरू उपयुक्त समयमा हुने बताएका छन् ।

सोमबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेपश्चात पत्रकारहरूसँगको प्रतिक्रियाको क्रममा प्रवक्ता पोखरेलले यस्तो बताएका हुन् । 

उनले भने, ‘प्रधानमन्त्रीज्यूको भारत जाने वा अन्य कुनै पनि देश जाने समय जतिखेर आउँछ, त्यतिबेला भ्रमण हुन्छ ।’

प्रवक्ता पोखरेलले पहिलो १०० दिनको कार्यव्यस्तता एकदमै धेरै भएकाले प्रधानमन्त्रीको भ्रमण नभएको पनि बताए ।

‘अहिले हाम्रो पहिलो १०० दिनको कार्यव्यस्तता एकदमै धेरै छ । सुरुमा हामी सबै काममा अलि बढी केन्द्रित छौं । त्यसैले अहिले प्रधानमन्त्रीज्यूको भ्रमण नभएको हो,’ उनले भने ।

सिंहदरबार प्रवेशमा कडाइ गरिएको भन्ने पत्रकारको जिज्ञासामा मन्त्री पोखरेलले यसलाई ‘व्यवस्थित गर्ने प्रक्रिया’ रहेको जानकारी दिए ।

उनले भने, ‘सिंहदरबार भित्रको आवतजावतलाई थप व्यवस्थित र सहजीकरण गर्नका लागि कार्यविधि बनाइएको हो । सर्वसाधारण र कर्मचारी सबैका लागि सहज बनाउन खोजिएको हो ।’

Share News