काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दुईदिने भारत भ्रमणमा जाने तयारीमा रहेका छन् ।
आगामी जेठ १८ गतेदेखि उनी भारत भ्रमणमा जान लागेको रास्वपाका एक नेताले जानकारी दिए ।
रास्वपा स्रोतका अनुसार भ्रमण नयाँ दिल्लीकेन्द्रित हुनेछ । भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटघाटको तयारी भइरहेको जनाइएको छ ।
भ्रमण भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुन लागेको एक नेताले जानकारी दिए ।
पछिल्लो समय नेपाल–भारत सम्बन्ध लिपुलेक विवाद, व्यापारिक चासो र उच्चस्तरीय भ्रमण स्थगितजस्ता घटनाले केही असहज बनेको पृष्ठभूमिमा लामिछानेको भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।
भारतीय सञ्चारमाध्यमहरूले समेत यसलाई काठमाडौं–दिल्ली सम्बन्ध सुधारको संकेतका रूपमा विश्लेषण गरेका छन् ।
यसैबीच सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले भने लामिछानेको भ्रमणलाई प्रधानमन्त्रीस्तरीय औपचारिक कूटनीतिक भ्रमणसँग जोडेर नहेर्न आग्रह गरेका छन् ।
उनले प्रधानमन्त्री वालेन्द्र साहको भारत भ्रमण उपयुक्त समयमा हुने पनि बताए ।