काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले संसद् बैठक बहिष्कार गरेका छन् ।
पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले प्रधानमन्त्री संसदमा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिनुपर्ने माग राख्दै सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका थिए ।
बैठकमा बोल्दै साम्पाङले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ अनुसार प्रधानमन्त्री तथा मन्त्रीले प्रतिनिधिसभामा उठेका प्रश्नको सात दिनभित्र जवाफ दिनुपर्ने स्पष्ट व्यवस्था रहेको उल्लेख गरे । तर उक्त व्यवस्था प्रधानमन्त्रीले पालना नगरेको उनको आरोप थियो ।
प्रधानमन्त्री उपस्थित हुनुपर्ने अन्यथा आफूलाई नै बैठकबाट निकाल्नुपर्ने भन्दै उनले सभामुखसँग आग्रह गरेका थिए । प्रधानमन्त्री आउनुहुन्न भने मलाई नै संसद्बाट निकालिदिनुस भन्दै उनले असन्तुष्टि व्यक्त गरेका थिए ।
यसक्रममा सभामुख अर्यालले प्रधानमन्त्रीको अनुपस्थितिबारे हिजो पनि संसदमा कुरा उठेको र सरकारको ध्यानाकर्षण गराइएको बताएका थिए । केहीबेर सवाल–जवाफ भएपछि साम्पाङ बैठक कक्षबाट बाहिरिएका हुन्।