काठमाडौं । नेपाल र भारतबीचको रेल सञ्जाल विस्तार गर्ने योजनाअन्तर्गत विभिन्न तीन रेलमार्ग परियोजनाको काम अघि बढिरहेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण अनुसार सीमापार रेल सेवा विस्तारसँगै आन्तरिक रेल पूर्वाधार निर्माणलाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।
पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत बर्दिबास–निजगढ खण्डमा तीव्र गतिमा काम भइरहेको छ । ७० किलोमिटर लामो यस खण्डमध्ये बर्दिबासतर्फ करिब ५५.५ किलोमिटर क्षेत्रमा रेल्वे बेड र १६ वटा रेल पुल निर्माण सम्पन्न भइसकेको छ ।
यस्तै नेपाल–भारत अन्तरदेशीय रेलमार्गअन्तर्गत जयनगर–जनकपुर–बर्दिबास परियोजनामा पनि निर्माण कार्य जारी छ । ६९ किलोमिटर लामो यस रेलमार्गको जयनगर–कुर्था–बिजलपुरा खण्डमा रेल सञ्चालनमा आइसकेको छ भने बिजलपुरा–बर्दिबास खण्ड विस्तारका लागि थप अध्ययन र निर्माण प्रक्रिया अघि बढाइएको छ ।
यसैगरी रक्सौल-काठमाडौं रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययनअन्तर्गत प्रारम्भिक चरणको काम भइरहेको छ । करिब १३६ किलोमिटर प्रस्तावित यस रेलमार्गको विस्तृत अध्ययन र भौगोलिक अनुसन्धानमा उल्लेख्य प्रगति भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
सरकारले नेपालमा रेल यातायातलाई दीर्घकालीन सार्वजनिक यातायात प्रणालीको महत्वपूर्ण आधारका रूपमा अघि बढाउँदै आएको छ । सीमापार व्यापार, यात्रु आवागमन र आर्थिक गतिविधिलाई सहज बनाउन यी रेल परियोजनालाई रणनीतिक रूपमा महत्व दिइएको बताइएको छ ।