खोप प्राप्त गर्ने बालबालिकाको संख्या बढ्यो

काठमाडौं । खोप प्राप्त गर्ने बालबालिकाको संख्या बढेको छ । चालु आर्थिक वर्षमा मात्रै बिसिजी खोप २ लाख ९१ हजारभन्दा बढी बालबालिकाले प्राप्त गरेका छन् भने डीपीटी–हेप–हिब खोपको तेस्रो मात्रा २ लाख २८ हजारभन्दा बढी बालबालिकालाई दिइएको छ ।

यस्तै, पोलियो खोप, दादुरा–रुबेला, पिसिभी तथा जापानिज इन्सेफलाइटिसविरुद्धका खोप कार्यक्रम पनि निरन्तर सञ्चालनमा छन् । गर्भवती महिलामध्ये २ लाख ३७ हजारभन्दा बढीले टिटानस र डिफ्थेरियाविरुद्धको खोप प्राप्त गरेका छन् । मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउने तथा मातृ तथा शिशु मृत्यु दर घटाउने लक्ष्यका साथ सेवा विस्तार गरिरहेको जनाएको छ । 

यसैबीच सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत विभिन्न १३ प्रकारका रोगविरुद्ध निःशुल्क खोप उपलब्ध गराइँदै आएको छ । बालबालिका तथा गर्भवती महिलालाई दिइने १३ प्रकारका रोगविरुद्ध निःशुल्क खोप उपलब्ध गराइरहेको छ ।

जसमा बिसिजी, डीपीटी, हेपाटाइटिस–बी, हेमोफिलस इन्फ्लुएन्जा–बी, पोलियो, दादुरा–रुबेला, जापानिज इन्सेफलाइटिस, टाइफाइड लगायतका रोगविरुद्ध नियमित खोप कार्यक्रम सञ्चालन भइरहेको छ । गर्भवती महिलालाई भने टिटानस र डिफ्थेरियाविरुद्ध खोप दिइँदै आएको छ । 

Share News