चेम्बर अध्यक्ष र साउदी राजदूतबीच द्विपक्षीय व्यापार तथा लगानीबारे छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिकरबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ ।

चेम्बर सचिवालयमा भएको भेटमा नेपाल–साउदी द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन, पर्यटन विकास तथा खाडी क्षेत्रमा कार्यरत नेपालीहरूको सुरक्षालगायत विषयमा छलफल भएको थियो ।

भेटका क्रममा अध्यक्ष अग्रवालले साउदी अरेबिया नेपालका लागि महत्वपूर्ण आर्थिक साझेदार रहेको उल्लेख गर्दै वैदेशिक रोजगारी, रेमिट्यान्स र लगानीका दृष्टिले यसको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनका अनुसार हाल नेपाल–साउदी द्विपक्षीय व्यापार करिब १० मिलियन अमेरिकी डलर रहेको छ, जसमा करिब ९ मिलियन डलर आयात र १ मिलियन डलर निर्यात रहेको छ । उनले श्रम सहकार्यसँगै व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने धारणा राखे ।

अग्रवालले नेपालमा जलविद्युत, पर्यटन, कृषि, जडीबुटी तथा सूचना प्रविधि क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै साउदी लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरे ।

उनले खाडी मुलुकबाट प्राप्त हुने रेमिट्यान्स नेपालको अर्थतन्त्रको प्रमुख आधार भएको उल्लेख गर्दै साउदी अरेबियाले हजारौं नेपालीलाई रोजगारी उपलब्ध गराएको बताए ।

साथै, साउदी अरेबियाको ‘भिजन २०३०’ अन्तर्गत सञ्चालनमा रहेका नियोम, द रेड सी तथा क्युदिया जस्ता मेगा परियोजनामा नेपाली जनशक्ति र व्यवसायीले योगदान दिन सक्ने सम्भावना रहेको उनले बताए ।

राजदूत मनिकरले साउदी अरेबिया विदेशी लगानीका लागि थप खुला हुँदै गएको उल्लेख गर्दै आगामी सन् २०३४ को फिफा विश्वकप र एक्स्पो २०३० जस्ता कार्यक्रमले लगानीका नयाँ अवसर सिर्जना गर्ने बताए ।

छलफलका क्रममा पश्चिम एसियाको वर्तमान अवस्थाबारे पनि विचार आदानप्रदान भएको थियो । त्यहाँ कार्यरत नेपालीहरूको सुरक्षा र हितका विषयमा दुवै पक्षले चासो व्यक्त गरेका थिए ।

कार्यक्रममा चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले नेपालमा लगानीको वातावरण सकारात्मक बन्दै गएको बताए ।

नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता श्रम सहकार्यबाट सुरु भएको सम्बन्ध व्यापार, पर्यटन, पूर्वाधार र लगानीसम्म विस्तार भएको छ ।

Share News