गणतन्त्र दिवसमा प्रधानमन्त्री नबोल्ने भएपछि कांग्रेसको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषयलाई लिएर प्रश्न उठाएकी छन् ।

बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले प्रधानमन्त्री उपस्थित हुन नसक्ने भए त्यसको कारण सार्वजनिक रूपमा जानकारी गराउनुपर्ने माग गरिन् ।

उनले भनिन्, 'गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने विगतदेखिको अभ्यास हो । आउन नसक्ने भए उहाँले कारण बताइदिनुपर्छ । व्यस्तता, स्वास्थ्य अवस्था वा अन्य कुनै कारण भए पनि जानकारी गराएको भए राम्रो हुन्थ्यो ।'

थापाले सत्तापक्षले बहुमतको आधारमा मात्र अघि बढ्न खोजेको आरोपसमेत लगाएकी छन् । बजेट निर्माण प्रक्रियामा विगतमा प्रतिपक्षका सुझाव पनि सुनिने गरेको उल्लेख गर्दै अहिले भने प्रतिपक्षले उठाएका प्रश्नको जवाफ नपाएको गुनासोसम्मेत प्रमुख सचेतक थापाले गरिन् ।

उनले भनिन्, 'विगतमा निर्णय सरकार पक्षकै हुन्थ्यो, तर प्रतिपक्षको कुरा पनि सुनिन्थ्यो । अहिले प्रधानमन्त्रीबाट प्रतिपक्षले खोजेको जवाफ पाइरहेको अवस्था छैन, जुन आम नागरिकले पनि पाउनुपर्ने हो ।'

थापाले आगामी बजेटमा सरकारले भौतिक पूर्वाधारभन्दा स्वास्थ्य र शिक्षा क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने धारणा राखिन् ।

यसैबीच, उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गर्दै कानुनभन्दा माथि कोही पनि नहुने बताइन् ।

उनले अनुसन्धान र कारबाही प्रक्रिया कानुनसम्मत हुनुपर्नेमा जोड दिँदै भनिन्, 'पहिले समात्ने अनि पछि अनुसन्धान गर्ने शैलीभन्दा सत्यतथ्य छानबिन गरेर कानुनी प्रक्रियाअनुसार अघि बढ्नुपर्छ । प्रतिवेदनमा उल्लेख भएका विषय सत्य भए कारबाही अगाडि बढाउनुपर्छ । त्यसमा कांग्रेसको पूर्ण समर्थन रहनेछ ।'

Share News