बिदा मनाउन तथा मनोरञ्जनका लागि नेपाल आउँछन् पर्यटक

काठमाडौं । नेपाल आउने अधिकांश पर्यटक बिदा तथा मनोरञ्जनका उद्देश्यले आएको तथ्यांकले देखाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका तथ्यांकअनुसार सन् २०२५ मा नेपाल आउने कुल पर्यटकमध्ये ६०.२ प्रतिशत बिदा तथा मनोरञ्जनका लागि आएका थिए ।

मनोरञ्जपछि नेपालमा सबैभन्दा धेरै पर्यटकहरू तीर्थयात्राका लागि आउने गरेका छन् । तथ्यांकअनुसार सन् २०२५ मा १४.४ प्रतिशत पर्यटक तीर्थयात्राका लागि नेपाल आएका थिए ।

त्यस्तै, १४.२ प्रतिशत पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल आएको तथ्यांक छ । व्यापार, अध्ययन, भ्रमण तथा अन्य विविध प्रयोजनका लागि नेपाल आउने पर्यटकको हिस्सा ११.२ प्रतिशत रहेको छ ।

null

मन्त्रालयका तथ्यांकअनुसार सन् २०२५ मा ११ लाख ६३ हजार ३६५ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । जुन सन् २०२४ को तुलनामा १.३ प्रतिशतले वृद्धि हो । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपालमा आएका थिए ।

पर्यटक आगमनमा वृद्धि हुँदै गएसँगै पर्यटकको औसत बसाइँ अवधिमा सुधार भएको छ  । सन् २०२४ मा प्रति पर्यटक औसत बसाइँ अवधि १३.३० दिन रहेकोमा सन् २०२५ मा १६.३४ दिन पुगेको छ । बसाइँ अवधि बढे पनि प्रति पर्यटक औसत दैनिक खर्च भने घटेको छ । सन् २०२४ मा प्रति पर्यटक प्रति दिन औसत खर्च ४०.८४ अमेरिकी डलर रहेकोमा सन् २०२५ मा ३३.०८ अमेरिकी डलर रहेको छ ।

सन् २०२५ देखि केन्द्रीय विद्युतीय पर्यटन व्यवस्थापन सूचना प्रणालीबाट अध्यागमन विभागले पर्यटकको आगमन र प्रस्थान मिति प्रविष्ट गरेपछि स्वचालित हिसाबले गणना हुने प्रबन्ध गरिएकाले पर्यटकको प्रतिदिन औसत खर्च समेत सोही अनुपातमा घटेको देखिन्छ ।

पर्यटक आगमन वृद्धि भएसँगै भ्रमण आयमा समेत वृद्धि हुँदै गएको छ । सन् २०२५ मा भ्रमण आय ४.८ प्रतिशतले वृद्धि भएको छ । सन् २०२४ मा पर्यटन क्षेत्रबाट प्राप्त हुने भ्रमण आय .८३ अर्ब ३९ करोड ४० लाख रुपैयाँ रहेकोमा सन् २०२५ मा बढेर ८७ अर्ब ३७ करोड १६ लाख पुगेको छ ।

विनाशकारी महाभूकम्प र विश्वव्यापी कोभिड- १९ महामारीका बाबजुद पनि सन् २०१६-२०२५ को दशकमा करिब ८३ लाख ८५ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटकीय पूर्वाधारमा लगानी वृद्धिको साथै पर्यटकीय नयाँ गन्तव्यको विकास र पर्यटन क्षेत्रको विविधिकरण गर्दै मुलुकलाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने देखिन्छ ।

Share News