काठमाडौं । काठमाडौंको बुढानिलकण्ठस्थित गणेश चोकमा रहेको साब्रिना होटल अब विश्व प्रसिद्ध फ्रान्सेली होटल समूह एकोर अन्तर्गतको लाइफ स्टाइल ब्रान्ड ‘ट्राइब काठमाडौं’ नामबाट सञ्चालन हुने भएको छ । साब्रिना होटल लिमिटेड र ट्राइब होटलबीच भारतको नयाँ दिल्लीमा सम्झौता भएसँगै अब ट्राइब काठमाडौं नाममा सञ्चालन हुनेछ ।
यो परियोजना दक्षिण एसियामै ट्राइब ब्रान्डको पहिलो परियोजना हुने कम्पनीको दाबी छ । यसअघि नै नेपालमा एकोर समूहकै मक्र्योर ब्रान्ड सञ्चालनमा रहेको छ । साब्रिना होटल लिमिटेडका अध्यक्ष निराजन थापाले एकोरसँगको सहकार्यमा ट्राइब ब्रान्ड नेपाल भित्र्याउन पाउँदा खुशी व्यक्त गरे ।
साथै यसलाई नेपालको पर्यटन क्षेत्रका लागि महत्वपूर्ण र ऐतिहासिक उपलब्धि भएको उनको भनाइ छ । ट्राइब ब्रान्डको आगमनले आधुनिक डिजाइन, आरामदायी वातावरण र समुदायमुखी सेवाको बढ्दो मागलाई पूरा गर्ने उनले विश्वास व्यक्त गरे ।
‘काठमाडौंमा आधुनिक यात्रुहरूको आवश्यकताअनुसार डिजाइन, सुविधा र सामाजिक स्पेसलाई जोड्ने सेवा आवश्यक छ, जसलाई ट्राइब ब्रान्डले पूरा गर्नेछ । यो परियोजनाले कम्पनीको लाइफस्टाइल होटल गन्तव्य बनाउने लक्ष्यलाई पनि अघि बढाउने छौं,’ उनले भने ।
ट्राइब ब्रान्ड विश्वभर आधुनिक डिजाइन, व्यावहारिक सुविधा, सामाजिक स्पेस र सुलभ मूल्यमा गुणस्तरीय सेवाका लागि परिचित छ । यो ब्रान्ड विशेषगरी युवा पुस्तालाई लक्षित गर्दै स्मार्ट डिजाइन र जीवन्त वातावरण प्रदान गर्ने मानिन्छ । हाल विश्वका विभिन्न देशमा ट्राइब ब्रान्डका २७ होटल सञ्चालनमा छन् । दक्षिण एसियामा प्रवेशअघि नै नेपालमा यसको उपस्थिति सुरु भएको हो । यो ब्रान्ड थाइल्याण्ड, इन्डोनेसिया, कम्बोडिया लगायतका एसियाली देशहरूमा पनि विस्तार भइसकेको छ ।

हाल उक्त होटल पाँचतारे स्तरमा स्तरोन्नति भइरहेको छ । स्तरोन्नतिपछि होटलमा ११० वटा कोठा रहनेछन् । साथै, तीनवटा रेस्टुरेन्ट सञ्चालनमा आउनेछन्, जसमा रुफटप रेस्टुरेन्ट काठमाडौंकै सबैभन्दा ठूला र आकर्षक रुफटप स्पेसमध्ये एक हुने थापाको भनाइ छ । प्रत्येक कोठाको औसत आकार करिब ३० वर्ग मिटर हुनेछ । होटलमा स्विमिङ पुल, हेल्थ क्लब, स्पा र जिमजस्ता सुविधा पनि रहनेछन् ।
यो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १० किलोमिटर दूरीमा रहेको छ । साथै, पर्यटकीय क्षेत्र ठमेल र शिवपुरी राष्ट्रिय निकुञ्ज पनि नजिकै रहेका छन् ।
साब्रिना होटलले निकट भविष्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँबाट बढाएर १ अर्ब २२ करोड रुपैयाँ पुर्याइएको छ । जसमध्ये ७४ करोड ९६ लाख रुपैयाँ संस्थापक समूहको रहनेछ भने ४७ करोड ४ लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि आईपीओमार्फत निष्कासन गरिनेछ ।
अध्यक्ष थापाले पर्यटन तथा होटल क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिनुपर्ने, एयरलाइन्सको क्षमता विस्तार गर्नुपर्ने, पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले घरेलु उडानमा नेपाली र विदेशी यात्रुका लागि फरक भाडादर हटाएर एकरूपता ल्याउनुपर्ने बताए । साथै, होटल क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा र स्पष्ट मापदण्ड आवश्यक रहेको उनको भनाइ छ ।