काठमाडौं । जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाएको छ । कम्पनीले गत मंसिर २२ गते सम्पन्न साधारण सभाको निर्णयअनुसार जारी पुँजी संरचना कार्यान्वयन गर्दै आईपीओ निष्कासनको तयारी अघि बढाएको हो ।
कम्पनीको जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ । जसमध्ये २ अर्ब रुपैयाँ प्रवद्र्धक सेयरअन्तर्गत रहनेछ भने बाँकी ५० करोड रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणका लागि आईपीओमार्फत जारी गरिने कम्पनीले जनाएको छ । आईपीओ प्रक्रिया अघि बढाउन सिद्धार्थ क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीले कृषि तथा वन पैदावारका माध्यमबाट खेतीदेखि विक्रेतासम्म गुणस्तरीय उत्पादन तथा आपूर्ति प्रणाली विकास गर्ने लक्ष्यसहित काम गरिरहेको जनाएको छ । प्राकृतिक स्रोत र मानवीय क्षमतालाई जोड्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा ‘समृद्ध राष्ट्र, सुखी नेपाली’ अभियानमा योगदान पुर्याउने उद्देश्य कम्पनीको रहेको जनाएको छ ।
कम्पनीप्रति व्यक्तिगत तथा संस्थागत लगानीकर्ताबाट प्राप्त विश्वास, सहभागिता र समर्थनले दीर्घकालीन संस्थागत विकास तथा बजार विश्वसनीयता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको कम्पनीले जनाएको छ । साथै, आगामी दिनमा अझ सुदृढ र उत्तरदायी ढंगले अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।