काठमाडौं । पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा केही राहत महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदलीका कारण केही दिन विभिन्न जिल्लामा वर्षासहितको हावाहुरी चल्ने र तराई क्षेत्रमा शीतल महसुस हुने जनाएको छ ।
दुई दिनअघि तराइका विभिन्न जिल्लामा ४१ डिग्री नाघेको तापक्रम अहिले ३९ डिग्रीभन्दा तल रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मापन केन्द्रमा भएको अभिलेखअनुसार आज सबैभन्दा बढी तापक्रम धनगढीमा ३८ दशमलव सात डिग्री मापन भएको छ । यस्तै नेपालगञ्जमा ३८ दशमलव दुई डिग्रीसम्म तापक्रम पुगेको छ ।
अन्य जिल्लामा ३६ डिग्रीभन्दा माथि आज तापक्रम नगएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले अहिले देशभर केही शीतल महसुस भएको बताए । उनले अहिले विभिन्न जिल्लामा वर्षा हुने क्रम बढेको भन्दै काठमाडौंसहित कतिपय जिल्लामा वर्षा भइरहेको जानकारी दिए।
बिहीबार (आज) मात्रै धनकुटामा सबैभन्दा बढी ८७ मिलिमिटर वर्षा भएको छ । काठमाडौंसहितका कतिपय जिल्लामा भने मध्यमसम्म वर्षा भएको विभागले जानकारी दिएको छ । भोलिदेखि भने वर्षा केही बढ्ने जनाइएको छ ।
विभागले बिहीबार साँझ जारी गरेको बुलेटिनअनुसार हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसका कारण अहले देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ ।
कोशी प्रदेशका केही स्थानमा, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको विभागका सूचना अधिकारी कायस्थले जानकारी दिए ।
मौसमविद् धर्मराज उप्रेतीका अनुसार पश्चिम तराईको लु अर्थात् अत्यधिक गर्मीको अवस्था आज रातिदेखि कमी आउने र आगामी तीन/चार दिन शीतल महसुस हुने सम्भावना छ ।
उनका अनुसार जेष्ठ १५ गते बिहानैदेखि पश्चिम नेपालका तीन प्रदेश (सुदुर पश्चिम, कर्णाली अनि लुम्बिनी) मा वर्षा, असिना, हावाहुरीको संभावना रहेको र जेष्ठ १८ गतेसम्म यो प्रणालीको प्रभाव रहने छ । यो प्रणालीको प्रभाव गण्डकी, कोशी र मधेसमा पनि देखिने हुँदा शीतल महसुस हुने बताइएको छ ।
विभागका अनुसार शुक्रबार (भोली) देशभर साधारणतया बादल लागी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशका तराई भूभागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।