काठमाडौं । पूर्वअर्थराज्यमन्त्री एवं नेपाली काँग्रेस सहमहामन्त्री उदय शमशेर राणाले सरकारको अगामी आर्थिक वर्षको बजेटमा अत्यधिक महत्वाकांक्षी भएको टिप्पणी गरेका छन् । बजेट वक्तव्यपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले अगामी आर्थिक वर्षको बजेटको आकार चालु आर्थिक वर्षको संशोधित बजेटभन्दा करिव २५ प्रतिशतले वृद्धि गरी ल्याइएको बताए । उनले बजेटमा ऋण र पूर्वाधार खर्चबीच सन्तुलन नमिलेको बताए । सरकारले ठूलो परिमाणमा आन्तरिक तथा वैदेशिक ऋण उठाउने लक्ष्य राखेपनि त्यसअनुसार पूर्वाधार क्षेत्रमा पयाप्त बजेट विनियोजन नगरिएको उनको टिप्पणी छ ।
सरकारले अगामी आर्थिक वर्षमा ६ अर्ब ५७ खर्ब रुपैयाँको ऋण लिने भनेको छ भने पूर्वाधार विकासमा ४ खर्ब ३१ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
पूर्वअर्थराज्यमन्त्री राणाले ऋण उत्पादक क्षेत्रमा खर्च नभए भविष्यमा ऋण तिर्न थप समस्या सिर्जना हुने चेतावनी दिए । साथै बजेटमा गरिबी न्यूनीकरण र विपन्न वर्गका विषय प्रभावकारी रूपमा समेटिन नसकेको भन्दै लक्ष्य हासिल गर्न कठिन हुने धारणा राखे ।
उनले भने, ‘बजेट निकै महत्वकांक्षी देखियो । सुन्नमा एकदमै राम्रो छ । यसको कार्यान्वयनमा ध्यामन दिनुपर्ने जस्तो मलाई लागेको छ । चालु आर्थिक वर्षको संशोधित बजेटभन्दा यो बजेटको साइज झन्डै २५ प्रतिशतले बढेको छ । अहिले ऋणको दायरा अत्यन्त बढेको कुरा मलाई अनौठो लागेको छ ।’
उनले युवा स्वरोजगारी र स्टार्टअपको सवालमा सरकारले केही नयाँ ल्याउन नसकेको टिप्पणी गरे । सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा समस्या हुने समेत बताए ।