निर्वाचनको तयारीमा एमाले, स्थानीय तहसम्म नेता परिचालन (अपानिसहित)

काठमाडौं । नेकपा एमालेले केन्द्रीय नेताहरूको कार्य विभाजनसँगै प्रदेश र स्थानीय तहको निर्वाचन लक्षित अभियान अघि बढाएको छ ।

शुक्रबार जारी ‘अपानि–२’ मार्फत एमालेले नयाँ अभियान सुरु गरेको हो । यसअघि गत जेठ १० गते बसेको सचिवालय बैठकले केन्द्रीय नेताहरुको कार्य विभाजन गरेको थियो ।

जारी अपानिमा कार्य विभाजन, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक सन्देश तथा स्थानीय तहसम्म नेताहरु परिचालन गरिएको विवरण समेटिएको छ ।

प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार पार्टीले आगामी निर्वाचनको तयारीलाई केन्द्रमा राख्दै ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गरेको हो । उनले महानगर र उपमहानगरपालिकाका वडासम्म समेत केन्द्रबाटै इन्चार्ज तोकेर नेताहरु पठाइएको जानकारी दिए ।

उनका अनुसार स्थानीय तहमा खटाइएका नेताहरुमा केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार सदस्य, केन्द्रीय आयोगका सदस्य, प्रतिनिधि सभाका उम्मेदवार तथा प्रदेश र जिल्लाका वरिष्ठ नेताहरु समेत रहेका छन् ।

एमालेले केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रदेश, जिल्ला, जनसंगठन र विभिन्न विभागहरुको जिम्मेवारी तोक्दै संगठन सुदृढीकरण र चुनावी तयारीलाई तीव्र बनाएको जनाएको छ । 

Share News