काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकमा उपस्थित भएपछि सांसदहरूलाई प्रत्यक्ष प्रश्न सोध्ने अवसर दिइएको छ । तर, सभामुख डोलप्रसाद अर्यालले प्रत्येक दलका लागि दुई मिनेट मात्र समय निर्धारण गरेपछि विपक्षी दलहरूले आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बैठक सुरु भएपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई बोल्न समय दिएका थिए ।
रोष्ट्रममा पुगेका प्रधानमन्त्रीले आफूलाई सांसदहरूले प्रश्न गर्नसक्ने भन्दै प्रश्नका लागि खुला गर्न आग्रह गरेका थिए । त्यसपछि सभामुखले दलगत आधारमा प्रश्नोत्तरको व्यवस्था गर्दै प्रत्येक दललाई दुई मिनेटको समय उपलब्ध गराएका हुन् ।
तर, उक्त प्रक्रियामाथि विपक्षी सांसदहरूले नियमावली विपरीत भएको भन्दै विरोध जनाएका छन् । नेकपाका सांसद युवराज दुलालले प्रतिनिधिसभा नियमावलीको दफा ७९ को उपदफा ५६(१) उल्लंघन भएको दाबी गर्दै प्रधानमन्त्रीसँग लिखित प्रश्न सोध्ने व्यवस्था रहेको उल्लेख गरे । उनले स्थापित संसदीय प्रक्रिया मिचेर प्रश्नोत्तर गरिन खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
यस्तै, नेकपा एमालेका सचेतक ऐन महरले पनि नियमापत्ति जनाउँदै प्रश्नोत्तर प्रक्रिया नियमावलीअनुसार हुनुपर्ने बताएका छन् । उनले संसद्को कार्यसञ्चालन स्थापित कानुनी व्यवस्था र नियमको दायराभित्र रहेर गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने व्यवस्था संसदमा अपेक्षाकृत दुर्लभ अभ्यास मानिन्छ । तर, समयसीमा र प्रक्रियाका विषयमा उठेको विवादले बैठकमा केहीबेर तनावको अवस्था सिर्जना गरेको थियो । सभामुखले भने प्रश्नोत्तर प्रक्रियालाई अघि बढाउने तयारी गरेका छन् ।