१६ वर्षपछि २० मिनेटको यात्रा ५ मिनेटमा, भुक्तानीको काम बाँकी

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका-१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीय स्थल टोड्के जोड्ने सडक स्तरोन्नति भएको छ ।

रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा समुद्री सतहदेखि २ हजार ४३० मिटर उचाइमा रहेको टोड्के सूर्योदय, हिमशृङखला, गुराँसे जङ्गल, पहाडी भूगोलको अवलोकनका लागि पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । 

स्थानीय पूर्वाधार आयोजना पोखरामार्फत पात्लेखेत-वाखेत-टोड्के सडक अन्तर्गत गहते चोकदेखि वाखेत हुँदै राम्जाली मन्दिर खण्डमा ढलान गरेर सडकलाई पक्की बनाएको बेनी नगरपालिका-१० का वडाध्यक्ष मसवीर रोकाले जानकारी दिए । 

‘सडक ढलान गरेर पक्की बनाएपछि यसअघि २० मिनेट लाग्ने गहतेचोक-राम्जाली मन्दिर खण्डको यात्रा ५ मिनेटमा छोटिनुका साथै स्थानीयवासी र टोड्के आवातजावत गर्ने पर्यटकलाई सहज भएको छ,’ उनले भने, ‘राम्जाली मन्दिरदेखि बराहथान हुँदै टोड्के जोड्ने सडक स्तरोन्नति योजनालाई निरन्तता दिन नगरपालिका, प्रदेश र सङ्घीय सरकारसँग पहल गरेका छौँ ।’

वाखेत-टोड्के सडक स्तरोन्नति योजना निर्माणका लागि गत माघ १० गते दुप्चेश्वर शुभम् बिल्डर्सले २ करोड ३६ लाख २३ हजार १५२ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । एक किलोमिटर ७०० मिटर सडक स्तरोन्नति गर्ने आगामी असार ३० गतेसम्म ठेक्काको म्याद रहेको योजना निर्माण कम्पनीले लक्ष्यभन्दा २ महिना अघिनै सम्पन्न गरेको हो । 

निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौता लगत्तै उपकरण र मजदुर परिचालन तथा निर्माण सामग्रीको व्यवस्थापन गरेर इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद लक्ष्य अघिनै काम सम्पन्न गरेको बताए । निर्माण सकिए पनि प्राविधिक नापजाँच र भुक्तानीको काम बाँकी रहेको उनको भनाइ छ ।

३.५ देखि ५ मिटर फराकिलो सडकमा ढलान गरेर पक्की बनाइएको छ । बेनी नगरपालिका-१० का वडा सदस्य बेगम पाइजाले २०६६ सालमा मार्ग खुलेको सडक १६ वर्षपछि पक्की भएको बताए । 

पक्की सडक बनेपछि स्थानीयवासी उत्साही भएका छन् । आवतजावत सहज भएको वाखेतका बासिन्दा अर्जुुन पुनको भनाइ छ । ‘साँघुुरो र कच्ची सडकमा यात्रा गर्न असहज भएको थियो । सडक ढलान भएपछि यात्रा अवधि छोटिनुका साथै सहज भएको छ,’ उनले भने । 

बेनी नगरपालिका-१० वाखेत, रघुगङ्गा गाउँपालिका-५ झिँ, बेनी नगरपालिका-५ डडुवा, मङ्गला गाउँपालिका-१ पूर्णगाउँ र कुहुँ-भिरकटेरा हुँदै टोड्के जोड्ने सडक छन् । 

गुर्जा, चुरेन, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लामो लर्कनलाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु टोड्केको प्रमुख विशेषता हो । हिमालसँग आँखा जुधाएर योग र ध्यानमा रमाउन सकिन्छ । यहाँ उत्पादन भएको मुला, आलु र सिमीका परिकारको स्वाद लिन सकिन्छ । स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्व पनि छ ।
 
डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्युठानको शाखा हो । स्वर्गद्धारी, शिष्यहरू पुजारी महाराज र रखाल महाराजलगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिङ्ग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा हुन् । आश्रम परिसरमा गौशाला पनि छ ।

Share News