काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका-६ स्थित पर्यटकीय गन्तव्य नगरकोट यतिबेला तीनै तहका सरकारको लगानीले तीव्र रूपमा विकास हुँदै गएको छ । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा तथा पर्यटन पूर्वाधारमा भएको लगानीले नगरकोटको मुहार फेरिँदै गएको स्थानीयवासी बताउँछन् ।
विगत एक दशकदेखि जीर्ण बनेको भक्तपुर-नगरकोट सडकले नगरकोटको पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको थियो । तर चाँगुनारायण नगरपालिकाले सडक कालोपत्र गरेपछि र संघ, प्रदेश तथा स्थानीय सरकारको वार्षिक २० करोड रुपैयाँभन्दा बढी लगानीले नगरकोटको विकासले गति लिएको छ ।
राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा वडा कार्यालय परिसरमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा बासिन्दाले नगरकोटको विकासप्रति सन्तुष्टि व्यक्त गरे ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका-६ का वडाध्यक्ष धनबहादुर लामाले पछिल्लो चार वर्षमा नगरकोटले उल्लेखनीय परिवर्तन हासिल गरेको बताए ।
उनले भने, ‘ठेकेदारले अलपत्र पारेको भक्तपुर-नगरकोट सडक नगरपालिकाले कालोपत्र गर्यो। नगरकोट भ्रमण वर्ष २०८२ सञ्चालन गरियो । चाँगुनारायण नगरपालिकासँगै काभ्रेको मण्डनदेउपुर, बनेपा तथा काठमाडौंको शङ्खरापुर नगरपालिकाले पनि नगरकोट जोड्ने सडक स्तरोन्नति र कालोपत्र गरेपछि पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ ।’
उनका अनुसार नगरकोटमा खानेपानी ट्याङ्की निर्माण गरी घरघरमा धारा विस्तार गरिएको छ । साथै बतासेडाँडामा बुद्ध मूर्ति तथा विभिन्न शालिक स्थापना, पर्यटकीय संरचना निर्माण, बसपार्कदेखि होटलसम्म पुग्ने सडक स्तरोन्नति, स्वास्थ्य र शिक्षामा पहुँच विस्तार, सरसफाइ अभियान, शुक्रबारे हाटबजार सञ्चालन तथा पर्यटक सुरक्षालगायतका कार्यक्रमले विकासलाई गति दिएका छन् ।
वडाध्यक्ष लामाले नगरकोटमा तामाङ सङ्ग्रहालय स्थापना गर्ने योजनाका लागि उपयुक्त स्थानको खोजी भइरहेको जानकारी दिए । साथै कम्तीमा १० श्ययाको अस्पताल सञ्चालन गर्ने योजना रहेको र नगरकोटलाई औपचारिक रूपमा पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारसँग माग गरिएको बताए ।
सार्वजनिक सुनुवाइमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपालगायत विभिन्न दलका प्रतिनिधिहरूले नगरकोटको विकासप्रति सन्तुष्टि व्यक्त गर्दै जनप्रतिनिधिहरूको कार्यसम्पादन सकारात्मक रहेको बताए ।
वडासचिव राजेन्द्र गणेशका अनुसार चालु आर्थिक वर्षमा वडाबाट विभिन्न शीर्षकमा १ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । वडामा स्वीकृत १०० योजनामध्ये ६२ वटा सम्पन्न भइसकेका छन् भने ३८ वटा निर्माणाधीन छन् । यस अवधिमा १०१ वटा घटना दर्ता भएका छन् भने ३९१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।