काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का उपाध्यक्ष तथा आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षका बलिया दाबेदार उत्तम भ्लोन लामाले संस्थाको वृहत्तर हित र एकताका लागि आफू पद छोड्न तयार रहेको घोषणा गरेका छन् ।
उर्जा क्षेत्रको विकासका लागि अबको इप्पान कार्यक्रममा बोल्दै लामाले व्यक्तिगत पदभन्दा संस्थाको गरिमा र एकता ठूलो भएको बताएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पदका दाबेदार लामाले संस्थाभित्र निर्वाचनभन्दा सर्वसम्मतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले भने, ‘इप्पानलाई एकताबद्ध बनाएर लैजानका लागि यदि कार्यसमितिका सबै साथीहरूले बलराम खतिवडाजीलाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत मान्नुहुन्छ भने म आजैका मितिदेखि आफ्नो दाबी छोडेर सल्लाहकारको रूपमा सहयोग गर्न तयार छु ।’
संस्थाभित्र फुट हुनुभन्दा मिलेर अघि बढ्नु नै अहिलेको आवश्यकता भएको उनको तर्क थियो । लामाले इप्पानलाई अब परम्परागत स्वरूपबाट रूपान्तरण गरी महासंघको ढाँचामा लैजानुपर्ने प्रस्ताव गरे ।
विधान संशोधनको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको उल्लेख गर्दै उनले ६ महिनाभित्र विधान परिमार्जन र एक वर्षभित्र चुनाव गराउने कार्ययोजनाका साथ आफूहरू अघि बढिरहेको स्पष्ट पारे ।
संस्था दर्ता ऐन र कानुनी जटिलताहरूका कारण केही समय ढिलाइ भए पनि संस्थालाई समावेशी र खुला बनाउने अभियान नरोकिने उनले बताए ।
नेतृत्वमा नैतिकता हुनुपर्ने कुरामा जोड दिँदै लामाले आफू नेतृत्वमा आए पनि लामो समय पद ओगटेर नबस्ने घोषणा गरे ।
उनले भने, ‘म नेतृत्वमा आएँ भने पनि दुई वर्षभन्दा बढी पदमा बस्ने छैन । नेतृत्व हस्तान्तरण गर्ने र नयाँ पुस्तालाई अवसर दिने संस्कार हामीले बसाल्नुपर्छ ।’
परिवर्तनको एजेन्डा र इतिहास आफू इप्पानमा सधैं परिवर्तन र सुधारको पक्षमा उभिएको स्मरण गर्दै उनले कृष्ण आचार्यको पालादेखि नै संस्थागत सुदृढीकरणका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
इप्पान सबैको पहुँचमा पुग्ने साझा चौतारी हुनुपर्ने र यसका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको उनको भनाइ थियो ।