काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट टोली संलग्न खेलमा भूटानी ब्याटरलाई ‘टाइम–आउट’ विधिबाट आउट गरिएको घटनाप्रति गम्भीर खेद प्रकट गर्दै माफी मागेको छ ।
क्यानका जारी गरेको एक प्रेस विज्ञप्तिअनुसार आज सम्पन्न खेलमा भूटानी ब्याटरलाई जसरी आउट गरियो, त्यसले क्यानले आत्मसात् गर्दै आएको क्रिकेटको मूल्य–मान्यता र खेल भावनालाई प्रतिनिधित्व गर्दैन ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीबाट भएको यस कार्यप्रति नेपाल क्रिकेट संघका तर्फबाट हामी हार्दिक माफी चाहन्छौं । यद्यपि उक्त आउट क्रिकेटको नियमभित्रै रहेर गरिएको भए तापनि खेलको वास्तविक मर्म र भावना लिखित नियमभन्दा माथि हुन्छ र हाम्रो हरेक व्यवहारमा यो सदैव झल्किनुपर्छ भन्ने कुरामा हामी दृढ छौं ।’
एक विकासोन्मुख क्रिकेट राष्ट्रको रूपमा नेपालले खेलकुद कौशल, आपसी सम्मान र निष्पक्ष खेललाई उच्च प्राथमिकता दिँदै आएको क्यानले उल्लेख गरेको छ । यस घटनाले ती मापदण्डहरू पूरा गर्न नसकेको स्वीकार गर्दै यसबाट पर्न गएको कुनै पनि प्रकारको निराशाप्रति संघले दुःख व्यक्त गरेको छ ।
नेपाल क्रिकेट संघले मैदानभित्र र मैदानबाहिर खेलको उच्च मर्यादा र निष्ठा कायम राख्न क्यान पूर्ण रूपमा प्रतिबद्ध रहेकोसमेत जनाएको छ ।
