काठमाडौं । लामो प्रतीक्षापछि गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले निर्माणाधीन होटलका लागि विश्वप्रसिद्ध लक्जरी ब्रान्ड ‘द लक्जरी कलेक्सन’ सँग सम्झौता गरेका छन् ।
विगत १२ वर्षदेखि निर्माणाधीन होटलको व्यवस्थापन म्यारियट इन्टरनेसनल अन्तर्गतको प्रिमियम ब्रान्ड द लक्जरी कलेक्सनले गर्ने गरी घले र डेभिड म्यारियटबीच सम्झौता भएको हो ।
सम्झौताका लागि नेपाल आएका डेभिड म्यारियटलाई घलेले होटल परिसरमा स्वागत गरेका थिए। उक्त अवसरमा म्यारियटले निर्माणाधीन होटलको स्थलगत अवलोकन तथा भ्रमणसमेत गरेका थिए ।
यो होटल २०१३ देखि बन्न थालेपनि निर्माण अझै सकिएको छैन । लैनचौरमा बनिरहेको होटलको काम करिब ७५ प्रतिशत सकिएको र अब छिट्टै सञ्चालनको घोषणा गरिने घले जानकारी दिए । करिब १३ अर्ब रुपैयाँ लगानीमा होटल तयार हुने अनुमान थियो ।
उनका अनुसार यो होटल साउथ एसिया अर्थात भारत, श्रीलंका, बंगलादेश, नेपालमै पहिलो लज्जरी होटल हुनेछ । ट्रेड मार्क रजिष्ट्रेसनका लागि नाम दिइएको छ ।

हाल निर्माणको काम म्यारियटकै अनुरोधअनुसार भइरहेको घलेले बताए ।
शेष घलेले भने, ‘२०१३ देखि नै निर्माण सुरु भएको हो, विभिन्न परिस्थितिले निर्माणमा ढिला भयो । लागत पनि धेरै नै बढ्न गयो । अब निर्माण पूरा हुन ३–४ महिना बाँकी छ । करिब १५ अर्बको हाराहारीमा पुग्ने देखिन्छ । २ महिना अघि हामीले मेरियट इन्टरनेशनलसँग साइन गरेका थियौं । मेयरिट इन्टरनेशनको अध्यक्ष डेभिड म्यारिवट अवलोकन गर्न आज आउनुभयो ।’
‘होटल साउथ एशिया अर्थात भारत, श्रीलंका, बंगलादेश, नेपालमै पहिलो लज्जरी होटल हुने भएको छ । ट्रेड मार्क रजिष्टेसनका लागि नाम दिइएको छ । अब १/२ हप्तामा आउँछ । त्यसैले हामीले पब्लिक नगरेको हो । म्यारियटकै अनुरोध अनुसार सबै काम भइरहेको छ,’ उनले थपे ।
लगानीकर्ता जमुना गुरुङ घलेले होटललाई अन्तर्राष्ट्रिय स्तरको विलासी सुविधासहित तयार पार्न विशेष ध्यान दिइएको बताइन् ।
उनका अनुसार होटललाई सुरुमा शेरेटन ब्रान्डमा सञ्चालन गर्ने योजना रहे पनि पछि ‘लक्जरी कलेक्सन’मा स्तरोन्नति गरिएपछि डिजाइन र संरचनामा व्यापक परिमार्जन गर्नुपर्ने थियो ।
निर्माणका क्रममा दक्ष तथा अर्धदक्ष जनशक्ति अभावका कारण काम प्रभावित भएको उल्लेख गर्दै उनले नेपालमा हालसम्म उपलब्ध नभएका स्तरीय सेवा र सुविधासहित होटल सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए।
पछिल्लो समय विश्वकै सबैभन्दा ठूलो होटल तथा आतिथ्य कम्पनीहरूमध्येको मेरियट इन्टरनेशनलले नेपालमा व्यवसाय विस्तारलाई तीब्रता दिन खोजिरहेको देखिन्छ । अहिले नै मेरियट इन्टरनेशनलअन्तर्गतका कम्पनीको फ्रेन्चाइजमा मेरियट काठमाडौं, मोक्सी, फेरिफिल्ड, अलफ्ट र सोल्टी होटलमा अटोग्राफ कलेक्सन सञ्चालनमा छन् ।