प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (मंगलबार) मध्यान्ह १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

सोमबार (आज) दिउँसो १ः१५ बजे १५ मिनेटका लागि स्थगित गरिएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसकेपछि सभामुखले अर्को बैठक भोलिका लागि तोकेका हुन् ।

संघीय संसद् सचिवालयले सूचना जारी गर्दै प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुखले मंगलबार दिउँसो १ बजे बैठक बस्ने गरी निर्धारण गरेको जनाएको छ।

सचिवालयद्वारा जारी सूचनामा विशेष कारणले बैठक बस्न नसकेको उल्लेख छ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले केही दिनयता संघीय संसद्का दुवै सदनमा विरोध जनाउँदै आएका छन् । यही विषयलाई लिएर सत्ता पक्ष र विपक्षी दलबीच सहमति जुटाउने प्रयास जारी रहे पनि हालसम्म निष्कर्ष निस्कन सकेको छैन ।

विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिबारे प्रतिपक्षी दलहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने र आवश्यक स्पष्टीकरणसहित माफी माग्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीबाट त्यसो नभएसम्म सदनको अवरोध हट्ने अवस्था नरहेको उनीहरूको भनाइ थियो ।

Share News