काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारमा स्वतन्त्र सांसद महावीर पुनलाई महत्त्वपूर्ण जिम्मेवारी दिने तयारी गरिएको छ ।
बालुवाटार उच्च स्रोतका अनुसार सांसद पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बनाउने गृहकार्य अन्तिम चरणमा पुगेको हो ।
वैज्ञानिक तथा अनुसन्धानकर्ताको पहिचान बनाएका पुनलाई उनकै विज्ञता सुहाउँदो मन्त्रालयको जिम्मेवारी सुम्पिने तयारी प्रधानमन्त्री शाहले गरेका हुन् ।
यद्यपि उनको नियुक्ति र शपथ ग्रहणको मितिबारे सरकारले औपचारिक घोषणा गर्न भने बाँकी नै रहेको स्रोतले जनाएको छ ।
वर्तमान प्रतिनिधि सभामा स्वतन्त्र सांसदको भूमिकामा रहेका पुन यसअघि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री बनिसकेका अनुभवी व्यक्तित्व हुन् ।
यता सुदन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन् । उनलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गुरुङको शपथग्रहण आजै हुने तय भएको छ । यसका लागि दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा शपथ समारोहको तयारी गरिएको छ ।
यसअघि सम्पत्ति विवरणलगायत विभिन्न विवादमा मुछिएपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि सरकारले उनीमाथि लागेका आरोपबारे छानबिन गर्न समिति गठन गरेको थियो ।