प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री : यो दशगजाको समस्या हो

काठमाडाैं । परराष्ट्रमन्त्री शिशीर खनालले दशगजा क्षेत्रमा देखिएका सीमा सम्बन्धी समस्याको समाधानका लागि नेपाल र भारतका सम्बन्धित संयन्त्रहरू सक्रिय रूपमा काम गरिरहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको हालैको सीमा विवादबारे दिएकाे अभिव्यक्तिबारे स्पष्ट पार्दै  मन्त्री खनालले सीमा विवादका विषयमा प्रधानमन्त्रीले उठाएको अभिव्यक्ति तेस्रो पक्षको संलग्नता आवश्यक पर्ने विषय नभएको स्पष्ट पारे ।

उनले नेपालले यस विषयमा कूटनीतिक नोट पठाएको र भारतले पनि त्यसको जवाफमा नोट पठाइसकेको जानकारी दिए ।

नेपाल-भारतबीच खुला सीमा रहेको उल्लेख गर्दै उनले केही स्थानमा सीमांकन तथा नक्सांकनको काम अझै सम्पन्न हुन बाँकी रहेको बताए ।

मन्त्री खनालका अनुसार दशगजा क्षेत्रमा अतिक्रमण, एक देशका नागरिकले अर्को देशको भूभागमा बसोबास गर्ने तथा दुवै देशले एकअर्काको भूभाग प्रयोग गरिरहेको जस्ता समस्या देखिएका छन् ।

'भारतले उपभोग गर्ने केही जग्गा नेपालतर्फ परेको छ भने नेपालले उपभोग गर्ने केही भूभाग भारततर्फ परेको अवस्था पनि छ,' उनले भने । 

यस्ता समस्यालाई व्यवस्थित गर्न दशगजा क्षेत्रको अतिक्रमण हटाउने, सीमा स्तम्भ निर्माण तथा सीमासम्बन्धी तथ्याङ्क संकलन र म्यापिङको काम दुवै देशका संयन्त्रमार्फत भइरहेको उनले बताए। कुन-कुन स्थानमा कस्ता समस्या छन् भन्नेबारे विस्तृत विवरण म्यापिङ सम्पन्न भएपछि उपलब्ध गराइने उनले जानकारी दिए ।

Share News