काठमाडौं । परराष्ट्रमन्त्री शिशीर खनालले नेपाल–भारत सीमा व्यवस्थापन तथा सीमासम्बन्धी समस्या समाधानका लागि ‘ज्वोइन्ट बोर्डर म्यानेज्मेन्ट टिम’ गठन गरिएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउन विभिन्न क्षेत्रमा सहमति भएको र त्यसअनुसार संयुक्त संयन्त्रहरू निर्माण गरिएको बताए ।
उनका अनुसार सीमा व्यवस्थापनका लागि गठन गरिएको ज्वोइन्ट बोर्डर म्यानेज्मेन्ट टिमको बैठक छिट्टै बस्ने तयारी भइरहेको छ । उक्त टोलीले हराएका सीमा स्तम्भको खोजी, सीमासम्बन्धी अभिलेख अद्यावधिक तथा नयाँ लगत तयार पार्ने लगायतका काम गर्नेछ ।
मन्त्री खनालले उक्त टोलीमा नेपाल र भारत दुवै देशका प्रतिनिधिहरू सहभागी रहेको जानकारी दिए । सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न र सीमा व्यवस्थापनलाई व्यवस्थित बनाउन संयुक्त संयन्त्रमार्फत काम अघि बढाइएको उनको भनाइ थियो ।
उनले सीमा व्यवस्थापन मात्र नभई अन्य द्विपक्षीय विषयमा पनि सहकार्य विस्तार गर्न विभिन्न संयुक्त संयन्त्र गठन गरिएको उल्लेख गरे ।
यस्ता संयन्त्रमार्फत दुई देशबीचका साझा चासोका विषयमा नियमित संवाद र सहकार्यलाई प्रभावकारी बनाइने उनले बताए ।