बिहे गरेर अमेरिका लैजाने प्रलोभनमा लाखौं ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं । बिहे गरेर अमेरिका लैजाने लोभ देखाई लाखौं रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक दम्पतीलाई पक्राउ गरेको छ । 

आफू अमेरिकामा रहेको र नेपाली बोल्न नआउने भन्दै अङ्ग्रेजी भाषामा कुरा गर्ने ’प्रिन्स तामाङ’ नामक टिकटक आईडीका सञ्चालक सञ्जिव नेपाली र उनकी श्रीमती सरिता पराजुली (अनुष्का) लाई प्रहरीले पक्राउ गरेको हो । 

स्याङ्जा घर भई हाल काठमाडौंको माछापोखरी बस्ने यो दम्पतीले टिकटकमा अनुहार नदेखाई पीडितसँग सम्पर्क बढाएका थिए ।

त्यसपछि सञ्जिवले सरितालाई आफ्नी बहिनी सरगम तामाङ भनी ह्वाट्सएपमा कुराकानी गर्न लगाएर पीडितबाट पटक/पटक गरी १५ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पीडितले दिएको उजुरीका आधारमा साइबर ब्युरोले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा प्रिन्स तामाङ र सरगम तामाङ बनेर ठगी गर्नेहरू वास्तवमा श्रीमान्–श्रीमती नै रहेको पुष्टि भएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

 ब्युरोको टोलीले उनीहरूलाई मङ्गलवार पक्राउ गरी विद्युतीय माध्यमसम्बद्ध ठगी अपराध मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ । 

अदालतले उनीहरूलाई थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएकाले ब्युरोले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ । 

पछिल्लो समय बिहे गरेर विदेश लैजाने बहानामा ठगीका घटनाहरू बढ्दै गएकाले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिहरूसँग कारोबार गर्दा विशेष सावधानी अपनाउन प्रहरीले सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।

Share News