डाक्टरलाई बिरामीको प्रश्न- क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

काठमाडौं । ‘डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?’, ‘क्यान्सर निको भएपछि फेरि दोहोरिने सम्भावना कति हुन्छ ?’, ‘उपचारपछि पहिलाजस्तै सामान्य जीवन बिताउन सकिन्छ ?’ यी जिज्ञासा क्यान्सरलाई पराजित गरी सामान्य जीवन बिताइरहेका तथा उपचाररत बिरामीहरूले भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा. उज्ज्वल चालिसेसमक्ष राखेका हुन् ।

सूर्यविनायक नगरपालिकाले नेपाल क्यान्सर सर्भाइभर सोसाइटीको समन्वयमा आयोजना गरेको क्यान्सरसम्बन्धी एकदिने सचेतना एवं उत्प्रेरणा कार्यक्रममा क्यान्सर सर्भाइभर, उपचाररत बिरामी तथा उनीहरूका परिवारका सदस्यहरूले आफ्ना अनुभव र जिज्ञासा विशेषज्ञसँग साटासाट गरेका थिए ।

कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका निर्देशकसमेत रहेका डा. चालिसेले क्यान्सर समयमै पहिचान गरी उपचार गरे निको हुने बताए । उनले रोग चौथो चरणमा पुगेपछि उपचार जटिल हुने भए पनि नियमित उपचार र चिकित्सकीय निगरानीमा रहे धेरै बिरामीले सामान्य जीवनमा फर्किन सक्ने बताए ।

उनले क्यान्सर निको भएपछि चिकित्सकको सल्लाहअनुसार गर्भधारण गर्न र स्वस्थ बच्चा जन्माउन सकिने स्पष्ट पार्दै रोग लागेपछि आत्तिनुभन्दा नियमित उपचार र फलोअपमा ध्यान दिनुपर्नेमा जोड दिए । गाउँगाउँसम्म क्यान्सरसम्बन्धी सचेतना विस्तार गर्न पनि उनले आग्रह गरे ।

सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले क्यान्सरलाई जितेर सामान्य जीवन बिताइरहेका व्यक्तिहरूको अनुभवले उपचाररत बिरामीमा आशा र आत्मविश्वास जगाउने बताइन् । यस्ता कार्यक्रमले सर्भाइभरबीच अनुभव आदानप्रदानका साथै परिवार, स्वास्थ्य संस्था, स्थानीय सरकार र समुदायबीच सहकार्यको वातावरण निर्माण गर्न सहयोग पुग्ने उनको भनाइ छ । 

नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले क्यान्सरलाई केवल शारीरिक रोगका रूपमा मात्र नभई मानसिक, सामाजिक र आर्थिक पक्षसँग जोडिएको समस्याका रूपमा हेर्नुपर्ने आवश्यकता औंल्याए ।

स्वास्थ्य शाखा प्रमुख वसन्त चौलागाईंका अनुसार सूर्यविनायक नगरपालिकाको अभिलेखअनुसार हाल करिब २४० जना क्यान्सरबाट प्रभावित व्यक्ति विभिन्न प्रकारका सहायता तथा सेवाबाट लाभान्वित हुँदै आएका छन् ।

Share News