‘पौडेललाई थुनामा राख्नु भनेको लोकतन्त्रमा गरिएको योगदानको अवमूल्यन हो'

काठमाडौं । विशेष अदालतमा अधिवक्ताहरूले विष्णु पौडेल बिरामी भएकाले थुनामा नराखी अनुसन्धान गर्नुपर्ने माग राखेका छन् । बारलाई वा परिवारको जिम्मा लगाएर छोड्न आदेश दिनुपर्ने वरिष्ठ अधिवक्ता अमर थापाले माग गरेका छन् ।

पौडेलको राजनीतिक जीवनलाई संकेत गर्दै राम्रो काम गर्ने मानिस विरक्तिन सक्ने अधिवक्ता थापा बताउँछन् । लोकतन्त्रमा यतिका वर्ष योगदान दिएका र ३५ वर्षसम्ममा बनेको इमेज डाउन गर्ने काम राज्यबाट भएको उनको भनाइ छ । 

‘राज्यलाई योगदान पुर्याएको व्यक्तिहरूमा अदालतले किन ध्यान दिँदैन ?,’ उनले भने, ‘उनलाई थुनामा राख्नु भनेको लोकतन्त्रको अवमुल्यन गर्नु हो ।’

थापाले अधिवक्ता वा परिवारको जिम्मा लगाएर छाड्न माग गरे ।

सोमबार सुर्खेतको शुभ होटलबाट उनलाई पक्राउ गरिएको थियो । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागबाट पक्राउ पुर्जी जारी भएकाले पक्राउ गरिएको थियो । उनी पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलन गर्न सुर्खेत पुगेका थिए । 

पौडेल आठौं पटक मन्त्री र पाँचौं पटक अर्थमन्त्री बनिसकेका छन् । २०७२ कात्तिक, २०७७ असोज, २०७८ जेठ उपप्रधानमन्त्रीसहित अर्थमन्त्री, २०७९ पुस उपप्रधानमन्त्रीसहित अर्थमन्त्री र २०८१ असार उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनेका हुन् ।

Share News