काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४का लागि एक अर्ब ५१ करोड १० लाख ५८ हजारको बजेट पारित गरेको छ ।नगरपालिकाको १२औं नगरसभाले उक्त बजेट सर्वसम्मत रूपमा पारित गरेको हो ।
नगरसभाले प्रस्तुत गरेको बजेटमध्ये चालुतर्फ ६७ करोड ६२ लाख २७ हजार ४८ रुपैयाँ अर्थात् ४४ दशमलव ७० प्रतिशत र पुँजीगततर्फ ८३ करोड २३ लाख ५६ हजार २५२ रुपैयाँ अर्थात ५५ दशमलव ३० प्रतिशत विनियोजन गरिएको छ ।
वित्तीय व्यवस्थापनतर्फ २५ लाख अर्थात् ० दशमलव १६ प्रतिशत बजेट छुट्याइएको छ ।
बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ३५ करोड ५० लाख १९ हजार ६०, राजस्व बाँडफाँडबाट २५ करोड ६६ लाख १४ हजार २४०, सङ्घीय सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ३६ करोड १७ लाख रुपैयाँ, प्रदेश सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड ५६ लाख ७७ हजार रुपैयाँ तथा सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रमका लागि १३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
पारित बजेटअनुसार नगरपालिकाका ९ वटा वडाका लागि वडागत योजना सञ्चालन गर्न प्रति वडा ५० लाख रुपैयाँ र वडा नं १ लाई ६० लाख रुपैयाँका दरले कुल चार करोड ६० लाख विनियोजन गरिएको छ ।
साथै वडा कार्यालयको सिफारिसका आधारमा प्रत्येक वडालाई एक करोड रुपैयाँका दरले थप नौ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।
नगरवासीको आवश्यकता र प्राथमिकताका आधारमा छनोट गरिएका नगरस्तरीय पूर्वाधार विकास योजनाका लागि पाँच करोड रुपैयाँ व्यवस्था गरिएको छ ।
यस्तै, साना तथा मझौला योजना वडा कार्यालयको सिफारिसमा सञ्चालन गरिने, मर्मत सम्भार कोष, विपद् व्यवस्थापन कोष तथा प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण र पुनःस्थापनाका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको नगर प्रमुख रमेश नापितले जानकारी दिए ।
नगरसभामा प्रस्तुत बजेटले पूर्वाधार विकास, पर्यटन र कृषि विकास, सेवा प्रवाह सुधार, सामाजिक सुरक्षा तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको नगर प्रमुख नापितले बताए ।
सौहाद्र्ररूपमा नगरसभा सम्पन्न गरी समससीमाभित्रै बजेट ल्याउन सफल भएकोमा विभिन्न राजनीतिक दल, जनप्रतिनिधि तथा कर्मचारीलाई उनले धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा नगरप्रमुख रमेश नापितले आगामी आर्थिक वर्षका लागि नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमुख समिता श्रेष्ठले आर्थिक विधेयक प्रस्तुत गरेका थिए ।
नगरसभामा प्रस्तुत भएका विधेयक तथा अन्य प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।