चन्द्रागिरीबाट नक्कली डाक्टर पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा डाक्टरको नक्कली उपाधि खडा गरी गैरकानूनी रूपमा बिरामीको उपचारमा संलग्न एक व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौं साविक मातातीर्थ गाविस वडा नंम्बर ७ ठेगाना भएका ४७ वर्षीय चेतना ए.एम. (पौडेल) रहेकी छन् ।

नेपाल मेडिकल काउन्सिल (एनएमसी) बाँसबारीको नियमित अनुगमनका क्रममा चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ मा सञ्चालित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा पाैडेलले कानुनविपरीत चिकित्सा अभ्यास गरिरहेको फेला पारेको थियो ।

पौडेलले आफूले प्राप्त नगरेको चिकित्सकको उपाधि (डाक्टर) प्रयोग गर्नुका साथै नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (एनएमसी नम्बर) बिना नै आधुनिक चिकित्सा निदान र उपचार गरिरहेको पाइएको हो । 

अनुगमनका क्रममा उनले बिरामीलाई विभिन्न औषधिहरू सिफारिस गरेको प्रेस्क्रिप्सनसहित फेला पारिएपछि मेडिकल काउन्सिलले ब्यूरोमा छानविन प्रतिवेदनसहित उजुरी दर्ता गरेको थियो ।

उजुरी प्राप्त भएलगत्तै प्रारम्भिक अनुसन्धान गरी ब्यूरोको टोलीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । प्रहरी टोलीले पौडेललाई असार ९ गते चन्द्रागिरीबाट नियन्त्रणमा लिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार पक्राउ परेका पौडेलमाथि मुलुकी अपराध संहिता, २०७४ को ‘इलाज सम्बन्धी कसूर’ अन्तर्गत अदालतबाट म्याद थप अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

Share News