पश्चिमी युरोपमा भीषण हीटवेव, फ्रान्समा रेकर्ड गर्मी

काठमाडौं । पश्चिमी युरोपमा जारी भीषण हीटवेव (अत्यधिक गर्मी) का कारण धेरै देशहरूमा अप्रत्याशित तापमान दर्ता गरिएको छ ।

फ्रान्सले आफ्नो इतिहासकै सबैभन्दा तातो दिन महसुस गर्यो, जबकि बेलायतमा जुन महिनाको रेकर्ड तोड्ने तापमान दर्ता भयो र स्पेनमा सन् १९५० पछिकै दिनको सबैभन्दा बढी औसत तापमान रेकर्ड गरियो ।

युरोपमा करोडौं मानिसहरू भीषण गर्मीको सामना गरिरहेका छन्। फ्रान्सको राजधानी पेरिसमा तापमान झण्डै ४१ डिग्री सेल्सियससम्म पुग्यो, जबकि यस महाद्वीपका ठूला भूभागहरूमा ‘रेड हीट अलर्ट’ जारी गरिएको छ ।

फ्रान्समा सन् १९४७ देखि रेकर्ड राख्न सुरु गरिएयता हिजोको दिनलाई सबैभन्दा तातो दिन मानिएको छ ।

देशको आधाभन्दा बढी हिस्सामा अझै पनि रेड हीट अलर्ट लागू छ, जबकि पश्चिमी क्षेत्रहरूमा हजारौं घरहरूमा बिजुली आपूर्ति बन्द भएको छ ।

जलवायु परिवर्तनले विश्वभरि नै तापमान बढाइरहेको छ, तर यसको प्रभाव युरोपमा विशेष रूपमा बढी देखिएको छ ।

कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार युरोप विश्वकै सबैभन्दा तीव्र गतिमा तातिरहेको महाद्वीप हो र यहाँको तापमान वैश्विक औसतको तुलनामा झण्डै दोब्बर गतिले बढिरहेको छ ।

यसको परिणामस्वरूप गर्मी महिनामा हीटवेवका घटनाहरू बढिरहेका छन्, जलस्रोतहरूमाथि दबाब चुलिँदै गएको छ र डढेलो लाग्ने घटनाहरू तीव्र भइरहेका छन् ।

Share News