काठमाडौं । ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशीलताको विकास र लघु, साना तथा मझौला उद्यमको प्रवद्र्धन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई उद्यमशाला’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रममार्फत उद्यमशाला कार्यक्रमको घोषणा गर्दै बैंकले इन्क्यूबेसन कार्यक्रमका लागि देशभरका उद्यमी तथा नवप्रवर्तनको सोच भएका व्यक्तिहरूबाट आवेदन आह्वान गरेको छ ।
यस उद्यमशाला कार्यक्रमको मुख्य उद्देश्य नवप्रवर्तनको सोच भएका व्यक्तिहरूलाई सफल उद्यमी बन्न प्रेरित गर्नुका साथै सञ्चालनमा रहेका लघु, साना तथा मझौला व्यवसायमा आबद्ध व्यवसायीहरूलाई दिगो र प्रतिष्ठित व्यवसाय सञ्चालनका लागि आवश्यक सैद्धान्तिक एवं व्यावहारिक ज्ञान, सीप तथा परामर्श प्रदान गर्नु हो ।
बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले उद्यमशाला कार्यक्रमको विधिवत् घोषणा गर्दै कार्यक्रमका लागि आवेदन खुला भएको जानकारी दिए । ‘लघु, साना तथा मझौला व्यवसायीहरूले भोग्नुपर्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न बैंकले यो प्लेटफर्म तयार गरेको हो। सम्बन्धित क्षेत्रका विषयविज्ञ, अनुभवी व्यवसायी तथा प्रशिक्षकहरूमार्फत सहभागीहरूलाई व्यावहारिक ज्ञान र समस्या समाधानका उपायहरू प्रदान गरिनेछ,’ उनले भने ।
उद्यमशाला कार्यक्रमअन्तर्गत बैंकले मुख्यतः दुईवटा ढाँचामा सहयोग गर्नेछ । पहिलो, इन्क्यूबेसन र दोस्रो, एक्सेलेरेसन । इन्क्यूबेसन कार्यक्रम नयाँ र नवप्रवर्तनकारी व्यावसायिक सोच भएका तर उद्यमशीलताको यात्रा कसरी सुरु गर्ने भन्ने अन्योलमा रहेका युवालाई लक्षित गरी सञ्चालन गरिनेछ । यसअन्तर्गत उनीहरूको क्षमता अभिवृद्धि, व्यवसायिक सञ्जाल विस्तार र मार्गनिर्देशन प्रदान गरिनेछ ।
त्यसैगरी, एक्सेलेरेसन कार्यक्रमअन्तर्गत हाल सञ्चालनमा रहेका तर व्यवसाय विस्तार वा स्तरोन्नतिमा कठिनाइ भोगिरहेका उद्यमीलाई समेटिनेछ । यसअन्तर्गत क्षमता विकास, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण र सरोकारवाला निकायहरूसँगको पहुँचमा सहजीकरण गरिनेछ ।
यस कार्यक्रममार्फत सहभागीहरूले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन प्रक्रिया, वित्तीय व्यवस्थापन र बैंक तथा वित्तीय संस्थाहरूसँगको पहुँचजस्ता महत्वपूर्ण विषयमा गहन व्यावहारिक ज्ञान प्राप्त गर्ने बैंकले विश्वास लिएको छ ।
उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, उच्च पदस्थ व्यवस्थापकहरू, साझेदार संस्थाका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भइसकेको छ । बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, ‘बेस्ट बैंक नेपाल २०२४, २०२५ र २०२६’, ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’ लगायत प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ ।
बैंकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३४४ शाखा कार्यालय, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवाका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।