काठमाडौं । मध्यपूर्व युद्धबाट खाडी मुलुकमा परेको प्रभावका कारण नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १७.३ प्रतिशतले घटेर ३ लाख ३५ हजार ५१० मा झरेको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ४ लाख ५ हजार ६१० थियो ।
अमेरिका-इजरायल र इरानबीचको द्वन्द्वका कारण मध्यपूर्वमा उत्पन्न अस्थिरताले खाडी मुलुकको श्रम बजार प्रभावित हुँदा त्यसको असर नेपाली श्रमिकको वैदेशिक रोजगारीमा परेको देखिएको हो ।
चालु आवको वैशाख मसान्तसम्मको तथ्याङ्कअनुसार अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, माल्दिभ्स, साउदी अरेबिया, कुवेत, बहराइन, कतार, लेबनान र जापान जाने नेपालीको संख्या घटेको छ । सबैभन्दा धेरै यूएई जानेको संख्या ५०.१४ प्रतिशतले घटेर ८० हजार १४५ मा झरेको छ । अफगानिस्तानका लागि समीक्षा अवधिमा कुनै पनि नेपालीले अन्तिम श्रम स्वीकृति लिएका छैनन् । गत वर्षको सोही अवधिमा भने ७ जनाले श्रम स्वीकृति लिएका थिए ।
त्यस्तै, दक्षिण कोरिया ४१.२७ प्रतिशत घटेर ६ हजार ६१६, माल्दिभ्स ३८.३३ प्रतिशत घटेर ४ हजार ११७, साउदी अरेबिया ३१.९१ प्रतिशत घटेर ४३ हजार ९२३, कुवेत ३०.४५ प्रतिशत घटेर २२ हजार ५१४, बहराइन २२.९२ प्रतिशत घटेर ४ हजार ३४०, कतार १८.४७ प्रतिशत घटेर ३३ हजार ५१, लेबनान १०.५२ प्रतिशतले घटेर १७ तथा जापान १०.३८ प्रतिशत घटेर १३ हजार ६६४ जनाले मात्रै अन्तिम श्रम स्वीकृति लिएका छन् ।
समग्रमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या घटेको भएपनि साइप्रस, जोर्डन, माल्टा, रोमानिया, इजरायल, ओमान, पोल्याण्ड, टर्की, मलेसियाका लागि भने बढेको देखिन्छ । समीक्षा अवधिमा मलेसिया जाने नेपालीको संख्या सबैभन्दा धेरै १ हजार ७५२ प्रतिशतले बढेर ५० हजार १७६ पुगेको छ ।
त्यस्तै, टर्कीमा २९९.२७ प्रतिशतले बढेर ४ हजार ४२०, पोल्याण्डमा १३८.४९ प्रतिशतले बढेर ६०१, ओमानमा ६४.४३ प्रतिशतले बढेर ६ हजार ८११, इजरायलमा ६२.११ प्रतिशतले बढेर ९०३, रोमानियामा २१ प्रतिशतले बढेर २२ हजार ६४१, माल्टामा १७.७३ प्रतिशतले बढेर २ हजार ५५६, जोर्डनमा ११.१५ प्रतिशतले बढेर १ हजार ७५४ र साइप्रसमा ८.७५ प्रतिशतले बढेर ६ हजार ३८८ पुगेका छन् ।

पुनः श्रम स्वीकृति लिने १६.४ प्रतिशत बढे
चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रूपमा बढेको छ । समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या १६.४ प्रतिशतले वृद्धि भई ३ लाख २६ हजार ३६४ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या २ लाख ८० हजार ३१४ रहेको थियो ।
तथ्याङ्कअनुसार अफगानिस्तान, पोल्याण्ड, मलेसिया, साइप्रस, माल्टा, जोर्डन, जापान, माल्दिभ्स, लेबनान, इजरायल, टर्की, रोमानिया, संयुक्त अरब इमिरेट्स (युएई), ओमान र कतारमा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या बढेको छ ।
सबैभन्दा धेरै अफगानिस्तानमा १५६ प्रतिशतले वृद्धि भई १९२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । यस्तै, पोल्याण्डमा १३८.१९ प्रतिशतले बढेर १ हजार ६३४, साइप्रसमा ७२.८३ प्रतिशतले बढेर २ हजार ५५१, माल्टामा ६०.१० प्रतिशतले बढेर २ हजार ५२८, जोर्डनमा ४७.२९ प्रतिशतले बढेर २९९, जापानमा ४५.९९ प्रतिशतले बढेर ५ हजार ३६४ तथा माल्दिभ्समा ४४.३३ प्रतिशतले बढेर २ हजार ४०६ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
त्यस्तै, लेबनानमा ४३.३३ प्रतिशतले बढेर ४३ जना, इजरायलमा २६.६३ प्रतिशतले बढेर ६१८, टर्कीमा २६.५१ प्रतिशतले बढेर २२९, रोमानियामा २४.८० प्रतिशतले बढेर ६ हजार ४७, युएईमा २१.१४ प्रतिशतले बढेर ७४ हजार ८५५, ओमानमा ७.४७ प्रतिशतले बढेर ३ हजार ७६ र कतारमा १.६६ प्रतिशतले बढेर ७७ हजार १५९ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। मलेसियामा मात्रै ५४ हजार ८१० जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
यद्यपि, साउदी अरेबिया, कुवेत, बहराइन र दक्षिण कोरियामा पुनः श्रम स्वीकृति लिनेको संख्या भने गत वर्षको तुलनामा घटेको छ । दक्षिण कोरियामा १७.३२ प्रतिशतले घटेर ३३४ जना, बहराइनमा ११.३२ प्रतिशतले घटेर ३ हजार ९४० जना, कुवेतमा १०.५८ प्रतिशतले घटेर १५ हजार ६९५ जना र साउदी अरेबियामा २.२२ प्रतिशतले घटेर ६३ हजार ७८१ जनामा सीमित भएको छ ।