काठमाडौं । देशभर मनसुनी गतिविधि क्रमशः सक्रिय बन्दै गएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन वर्षाको मात्रा बढ्दै जाने र केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार शनिबारको तुलनामा आइतबार वर्षा थप बढ्नेछ भने सोमबार अझ सक्रिय हुने अनुमान गरिएको छ ।
विशेषगरी असार १५ गते राति कोसी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ भने मधेस प्रदेशका एक/दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
विभागले कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
हाल कोसी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकीका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको छ भने अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।
गण्डकी र लुम्बिनीका बाँकी भूभाग, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा पनि आगामी तीन–चार दिनभित्र मनसुन विस्तार हुने सम्भावना रहेको छ ।
विभागका अनुसार २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी परे भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्म परे धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा मानिन्छ ।
सम्भावित वर्षा र हावाहुरीका कारण पहिरो, डुबान तथा नदी–खोलामा पानीको सतह बढ्न सक्ने भएकाले विभागले आफ्नो पछिल्लो मौसम सूचना नियमित रूपमा हेर्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।