काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको कडा निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ ।
मन्त्री यादवले लामो समयदेखि भाडा तिर्न आनाकानी गरिरहेका उद्योग तथा कार्यालयहरूबाट तत्काल रकम उठाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई निर्देशन दिएकी थिइन् । उक्त निर्देशनपछि हालसम्म ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता रकम संकलन भएको लिमिटेडले जनाएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार वि.सं. २०४५ सालदेखि नै केहि उद्योगहरुले भाडा तिर्न बाँकी राखेका थिए । केही दिन अगाडि करिब ६ सय ३५ उद्योग तथा कार्यालयलाई भाडा तिर्न सार्वजनिक सुचनानै प्रकशित गरिएको र अधिकांशले धमाधम बक्यौता चुक्ता गरेका छन् ।
बाँकी उद्योगको बिजुली काटियो
मन्त्री यादवले तोकिएको समयभित्र भाडा भुक्तानी नगर्ने उद्योगहरूको विद्युत लाइन काट्न निर्देशन दिएसँगै लिमिटेडले कडा कदम चालेको छ । सुरुमै झन्डै २ सय बढी उघोगको लाइन काटिएको थियो।ति उधोगहरुके धमाधम भाडा तिरेपछि लाइन जोडिएको छ । अझै भाडा तिर्न बाँकी रहेका ४५ वटा कम्पनीहरूको विद्युत लाइन काटिएको महाप्रबन्धक ओलीले जानकारी दिए ।
मन्त्री यादवले उक्त उधोगहरुको बक्यौता पूर्ण रुपमा चुक्ता नहुदा सम्म लाइन नाजोड़ने स्पष्ट निर्देशन दिएको लिमिटेडले बताएको छ ।
बक्यौता राख्ने उद्योगहरूमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रा.लि.को करिब ३ करोड ६९ लाख रुपैयाँ र सोही सञ्चालकको अर्को कम्पनी कन्टिनेन्टल सर्भिसेज प्रा.लि.को करिब १ करोड रुपैयाँ भाडा उठ्न बाँकी रहेको छ ।
हाल यी दुवै उद्योगको समेत विद्युत लाइन काट्ने प्रक्रिया अघि बढाइएको लिमिटेडले जनाएको छ ।