सस्तो ब्याजदरमा पनि कर्जा प्रवाह नबढ्नु संरचनागत समस्याको संकेत

काठमाडौं । बैंकिङ विज्ञ अनलराज भट्टराईले ब्याजदर सस्तो हुँदा पनि कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसक्नु नेपालको अर्थतन्त्रमा रहेको संरचनागत समस्याको संकेत भएको बताएका छन्।

‘आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका’ विषयक कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र बैंकले ती संरचनागत समस्याहरू समाधान गर्न नसकेको टिप्पणी गरे। उनका अनुसार ५० करोड रुपैयाँभन्दा माथिका कर्जाका लागि अनिवार्य गरिएको क्रेडिट रेटिङको सीमा पुनरावलोकन गर्न आवश्यक छ, किनकि यसले पनि कर्जा विस्तारमा अवरोध सिर्जना गरिरहेको छ।

भट्टराईले विभिन्न नियामकीय प्रावधानका कारण कर्जा दिन सक्ने अवस्थामा रहेका बैंकहरू समेत सहज रूपमा कर्जा प्रवाह गर्न नसकिरहेको बताए। उनले बैंकिङ प्रणालीलाई थप आधुनिक र प्रभावकारी बनाउन ‘ओपन बैंकिङ’ अवधारणालाई अघि बढाउनुपर्ने धारणा राखे। “अब हरेक बैंकका फरक–फरक एप चलाउनेभन्दा सबै बैंकको सेवा एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने दिशामा सोच्नुपर्छ,” उनले भने।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कामु गभर्नर किरण पण्डितले आगामी मौद्रिक नीति तयार गर्दा वित्त नीतिसँग सम्बन्धित विषयहरू समेत समेटिनुपर्ने अवस्था सिर्जना भएको बताए। उनले समग्र आर्थिक अवस्था, बजारको अपेक्षा तथा विभिन्न क्षेत्रका सरोकारलाई ध्यानमा राखेर मौद्रिक नीति ल्याइने जानकारी दिए।

“हामीले अपेक्षाहरू परिवर्तन गर्नुपर्नेछ। अर्थतन्त्रबारे निर्माण भएका केही न्यारेटिभहरू पनि सच्याउन आवश्यक छ,” उनले भने। पण्डितले बैंक, फिनटेक र ओपन बैंकिङबीचको सहकार्यबारे गम्भीर रूपमा सोच्ने समय आएको उल्लेख गरे। साथै युवा, किसान तथा वास्तविक क्षेत्रका सरोकारवालाहरूको आवाज नीतिगत निर्णय गर्ने तहसम्म पुग्न नसकेको भन्दै त्यसबीचको दूरी घटाउन आवश्यक रहेको बताए।

त्यस्तै कार्यक्रममा बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) का उपाध्यक्ष दिलिप मुनाकर्मीले बैंक तथा वित्तीय संस्थाहरूले अर्बौं नाफा गरेको देखिएपनी वितरणयोग्य नाफा भने रिणात्मक रहेको बताए । उनका अनुसार यही कारण विगत केही वर्षदेखि केही बैंकको लाभांश शून्य छ । ‘लाभांश शून्य भएपछि बैंकमा किन लगानी गर्ने भन्ने विसयमा सोच्न बाध्य छन,’ उनले भने ।

निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले न्यून ब्याजदर हुँदा कर्जाको माग  नबढेको बताए । उनले अहिले न्यून ब्याजदरमा कर्जा लिदा बिचमा ब्याजदर उच्च हुने जोखिम हुने भएकाले निजी क्षेत्रले यो नचाहने उल्लेख गरे । उनले भने, ‘बैंकिङ भनेको क्वाटर इण्ड गर्नुपर्ने हो जस्तो लाग्दैन, बैंकिङ क्षेत्र सुक्ष्म रूपमा निगरानी हुँदा आफ्नो सृजना हराएको छ ।’ उनले बैंकले बिजनेस क्षेत्रलाई सृजनात्मक बनाउन जरुरी रहेको औंल्याएका छन् । 
 

Share News