बैंक ब्यालेन्स देखाउने खेल : दिनको २३ हजार ब्याजको लोभले ६५ लाख डुब्यो

काठमाडौं । एक दिनका लागि मात्रै बैंक खातामा रकम देखाउनुपर्ने बहाना । त्यसको बदलामा दैनिक २३ हजार रुपैयाँ ब्याज दिने आकर्षक प्रस्ताव । विश्वास गरेर ६५ लाख रुपैयाँ खातामा जम्मा गरिदिएपछि भने न ब्याज आयो, न मूलधन नै फर्कियो । बरु तीन/तीन पटक बैंकमा पेश गरिएको चेक ‘पर्याप्त मौज्दात छैन’ भन्दै फिर्ता भयो, त्यसमाथि चेकमा गरिएको हस्ताक्षरसमेत फरक भेटियाे। अन्ततः यो प्रकरण बैंकिङ कसुरको मुद्दासहित अदालतको ढोकासम्म पुगेको छ ।

वैदेशिक रोजगारीका लागि बैंक ब्यालेन्स देखाउनुपर्ने भन्दै ६५ लाख रुपैयाँ ठगी गरेको आरोपमा २१ वर्षीय विवेक तामाङविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग दर्ता भएको छ । लुम्बिनी प्रदेशको बर्दिया, मधुवन नगरपालिका–७ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–११ बस्दै आएका तामाङविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र सुयोग सापकोटा वादी भएर अदालतमा अभियोग दर्ता गराएका हुन् । 

जाहेरकर्ता सुयोग सापकोटाका अनुसार विवेक तामाङले आफू क्यानडा जान लागेको र भिसा प्रक्रियाको अन्तिम चरणमा बैंक खातामा पर्याप्त आर्थिक स्रोत देखाउनुपर्ने आवश्यकता रहेको बताएका थिए  । उनले रकम केवल एक दिनका लागि मात्रै आवश्यक पर्ने र त्यसको बदलामा दैनिक २३ हजार रुपैयाँ ब्याज दिने प्रस्ताव गरेका थिए ।

तामाङको कुरामा विश्वास गर्दै सापकोटाले आफ्ना साथीभाइ र आफ्नै रकम गरी कुल ६५ लाख रुपैयाँ २०८२ चैत ११ गते तामाङको प्रभु बैंक खातामा जम्मा गरिदिएका थिए ।

रकम प्राप्त गरेपछि तामाङले भोलिपल्ट अर्थात् २०८२ चैत १२ गते भुक्तानी हुने गरी आफ्नो प्रभु बैंक खाताको ६५ लाख रुपैयाँ बराबरको चेक सापकोटालाई दिएका थिए ।

तर, उक्त चेक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पेप्सिकोला शाखामा भुक्तानीका लागि पेश गर्दा तीन पटकसम्म खातामा पर्याप्त रकम नभएको भन्दै बैंकले चेक फिर्ता गरिदियो । बैंकले चेकमा खातावालको हस्ताक्षरसमेत नमिलेको जनाएको छ ।

प्रहरी अनुसन्धानका क्रममा विवेक तामाङले आफू अमेरिका जाने तयारीमा रहेको र बैंक ब्यालेन्स देखाउनकै लागि दैनिक २३ हजार रुपैयाँ ब्याज दिने सर्तमा ६५ लाख रुपैयाँ लिएको स्वीकार गरेका छन् । 

उनले बयानमा रकम खातामा आएपछि मुना तामाङ नामकी महिलाको प्रलोभनमा परी उनको निर्देशनअनुसार निर्मला श्रेष्ठ र नवीनकुमार सुवेदीको खातामा ६० लाख रुपैयाँ ट्रान्सफर गरेको तथा बाँकी ५ लाख रुपैयाँ नगद झिकेर खर्च गरेको बताएका छन् । 

रकम फिर्ता हुन नसकेपछि चेक बाउन्स भयो । त्यसपछि अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले तामाङलाई २०८३ असार २ गते काठमाडौंको कालिमाटी क्षेत्रबाट पक्राउ गरेको थियो । 

प्रभु बैंक लिमिटेडले प्रहरीलाई पठाएको पत्रमा सम्बन्धित खाता विवेक तामाङकै नाममा रहेको र एकल हस्ताक्षरबाट सञ्चालन हुने पुष्टि गरेको छ । बैंकका अनुसार चेक भुक्तानी हुन नसक्नुका दुई मुख्य कारण थिए-खातामा पर्याप्त मौज्दात नभएको र चेकमा गरिएको हस्ताक्षर खातावालको नमुना हस्ताक्षरसँग नमिलेको । 

सरकारी वकिल कार्यालयले विवेक तामाङविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ (दोस्रो संशोधनसहित) को दफा ३क उपदफा (१) र (५) अन्तर्गत मुद्दा दायर गरेको छ ।

अभियोगपत्रमा तामाङबाट पीडितलाई ६५ लाख रुपैयाँ बिगो फिर्ता गराउन, चेक काटिएको मितिदेखिको कानुनी ब्याज दिलाउन, बिगोको ५ प्रतिशत जरिवाना गर्न तथा ऐनको दफा १५(१क)(ग) अनुसार तीन महिनादेखि एक वर्षसम्म कैद सजाय गर्न माग गरिएको छ ।

यसबाहेक अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गराउनसमेत अदालतसमक्ष मागदाबी गरिएको छ ।

Share News