काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई ‘नेसनल बेस्ट प्रिजेन्टेड अवार्ड २०२५’ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि (आईटी) विधामा ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईसीएएन) ले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा कम्पनीले सार्वजनिक गरेका वित्तीय खुलासाका आधारमा एनसीएचएललाई उक्त सम्मान प्रदान गरेको हो ।
आईसीएएनले हरेक वर्ष संस्थाहरूको वित्तीय प्रतिवेदनको गुणस्तर, संस्थागत सुशासन र पारदर्शिताको मूल्याङ्कन गर्दै ‘बेस्ट प्रिजेन्टेड अवार्ड’ प्रदान गर्दै आएको छ । एनसीएचएलका अनुसार यो सम्मानले कम्पनीको पारदर्शिता, जवाफदेहिता तथा संस्थागत सुशासनप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ ।
यसअघि पनि एनसीएचएलले आईसीएएन तथा दक्षिण एसियाली लेखा महासंघ (साफा) बाट ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ प्राप्त गर्दै आएको कम्पनीले जनाएको छ ।
हाल एनसीएचएलले आफ्ना ५२ सदस्य बैंक तथा वित्तीय संस्थामार्फत एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, रिटेल पेमेन्ट स्विच (आरपीएस), नेसनल पेमेन्ट स्विच, कनेक्टआरटीजीएस, नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई), कनेक्टआईपीएस, कर्पोरेटपे, नेपालपे क्यूआर, ईएफटी कार्ड स्विच तथा सेवा र नेपालपे कार्डलगायतका भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ ।
कम्पनीका अनुसार बैंक तथा वित्तीय संस्थाबाहेक बीमा, रेमिट्यान्स, भुक्तानी सेवा प्रदायक (पीएसपी), भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), सरकारी तथा अर्धसरकारी निकायसहित १२५ भन्दा बढी संस्थाहरू अप्रत्यक्ष वा प्राविधिक सदस्यका रूपमा आबद्ध छन् ।